
सिराहाको लहानस्थित इलाका प्रशासन कार्यालयले वडाले पठाएको अनलाइन सिफारिसका आधारमा नागरिकता वितरण गर्न थालेको छ। इलाका प्रशासनको कार्यक्षेत्रअन्तर्गत पर्ने ६ वटा स्थानीय तहका ४० वटै वडा कार्यालयबाट आउने अनलाइन सिफारिसका आधारमा नागरिकता वितरण थालेको इलाका प्रमुख उपसचिव गोकर्णराज सुयलले बताए।
त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरूपता ल्याउने उद्देश्यले गृह मन्त्रालयको योजनाअनुरूप वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत प्राप्त सिफारिसका आधारमा मंगलबार लहान नगरपालिका– १५ ढोढनाकी अनुशा चौधरी र लहान नगरपालिका– १ का हेमशंकर साहूलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।
सुयलका अनुसार सेवाग्राहीको जन्मदर्ताको नम्बर नागरिकता प्रणालीमा प्रविष्ट गरिएकाले उक्त नम्बरका आधारमा सम्बन्धित वडा कार्यालयले नागरिकता बनाउन आवश्यक कागजात प्रमाणीकरण गरी अनलाइनमा राख्ने र कागजात दुरुस्त भए–नभएको बारेमा अनलाइनबाटै वडालाई सूचित गरिन्छ । ‘अनलाइन प्रणालीमार्फत प्राप्त कागजात रुजु गर्छौँ, नपुगेको भए वडालाई प्रणालीमै लेख्छौँ,’ उनले भने, ‘सबै कागजात पुगेपछि कार्यालयले प्रमाणीकरण गरी वडालाई सूचना गर्छौँ, त्यसपछि आउने सेवाग्राहीलाई कार्यालय आएको १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउँछौँ।’
अनलाइन सिफारिसमार्फत अहिलेलाई नयाँ नागरिकता मात्र दिन थालिएको जानकारी दिँदै प्रमुख सुयलले प्रतिलिपिको हकमा मन्त्रालयले सफ्टवेयर बनाइरहेकाले त्यो प्राप्त भएपछि प्रतिलिपि नागरिकता पनि अनलाइन सिफारिसका आधारमा वितरण गरिने बताए । मधेश प्रदेशमै दोस्रो जिल्लाका रूपमा लहान इलाकाबाट अनलाइन सिफारिसका आधारमा थालिएको नागरिकता वितरण प्रक्रिया जिल्ला प्रशासनले भने सिराहा नगरपालिकाबाट थालनी गर्ने योजना रहेको उनले बताए ।
अनलाइन सिफारिसका आधारमा नागरिकता वितरण थालिएसँगै अब सेवाग्राहीले आफ्नो बसोबास रहेको वडाको सिफारिस, अनुसूची फारम, जन्मदर्ता, विवाह दर्ता, नाता प्रमाणितलगायत कागजात बोकेर प्रशासन कार्यालय धाउनुनपर्ने नागरिकता फाँट प्रमुख कुलबहादुर मिझारले बताए । ‘नागरिकता बनाउनुपर्ने व्यक्तिले आवश्यक कागजात सम्बन्धित वडा कार्यालयमा बुझाएपछि त्यहीँबाट नागरिकता प्रणालीमार्फत प्रशासनमा प्राप्त हुन्छ,’ उनले भने, ‘कागजात पूरा रहे–नरहेको हेरेपछि त्यही प्रणालीमा वडालाई लेख्छौँ। कागजात पूरा भएसँगै कार्यालय प्रमुखले प्रमाणीकरण गरेपछि सम्बन्धित सेवाग्राहीलाई नागरिकता दिन्छौँ।’