
रंगशालाको चेन्जिङ रुमबाट चोरी भएका १५ थान मोबाइलसहित कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका–८, आरुखर्क बस्ने २३ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।
शर्माका अनुसार गुरुङले पोखरा रंगशालामा फुटसल खेल्नका लागि चेन्जिङ रुममा कपडा राखेको अवस्थामा फोन तथा नगद चोरी गरेका थिए।
६ फागुनमा रंगशालाको चेन्जिङ रुमबाट चोरी भएको जाहेरीको आधारमा कार्यालयबाट अनुसन्धान तथा खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
शंकास्पद अवस्थामा फेला पारेका गुरुङको शरीर तथा घरकोठा खानतलासी गर्दा चोरी भएका विभिन्न कम्पनीका १५ थान मोबाइल, चार थान चार्जर र दुईवटा ड्रोन क्यामेरासमेत बरामद गरेको शर्माले जानकारी दिए।
उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धान गर्न सात दिन हिरासत राख्ने अनुमति लिएको प्रहरीले जनाएको छ।