
५ चैतमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीस्वरूप आज पोखराको पृथ्वीनाराण क्याम्पसमा नमुना मतदान भएको छ । मतदानमा एक हजार तीन सय ३५ विद्यार्थी सहभागी भिए।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आउँदो ५ चैतमा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । विद्यार्थीलाई मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यसहित एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसको आयोजनामा नमुना मतदान भएको हो।
धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसको रूपमा परिचित पृथ्वीनारायण क्याम्पसपरिसरमा आयोजित नमुना मतदानमा एक हजार ३३५ जना सहभागी भएका थिए। खसेको मतमध्ये ४७ मत बदर भएको आयोजक संकायका अध्यक्ष कुशल रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार निर्वाचनको तयारीस्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको जानकारी दिए। बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फको स्ववियु मतदान तरिकाबारे जानकारी गराउँदै सहभागीहरूलाई मत राख्न लगाएको रेग्मीले जानकारी दिए।
निर्वाचन कार्यतालिकाअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन-पत्र दर्ता २७ फागुनमा, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २९ फागुनमा र ५ चैतमा मतदान हुनेछ।
विवादका कारण यसअघिका दुई निर्वाचन भएनन्
पोखराको पृथ्वीनारायण क्याम्पस देशभरका क्याम्पसहरूमध्ये सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्छन्। हाल क्याम्पसमा १२ हजार ५०० विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्यासँगै त्रिविअन्तर्गत देशकै ठुलो आंगिक क्याम्पसको रूपमा समेत रहेको पृथ्वीनारायणमा ०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन।
विवादका कारण यसअघि २०७३ र २०७९ सालमा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको हो। ०७३ सालमा विद्यार्थी संगठनहरूबिच विवादका कारण र ०७९ सालमा उम्मेदवार र निर्वाचनको विषयलाई लिएर अदालतसँगै निर्वाचन समितिमा परेको उजुरी एवं विवादका कारण निर्वाचन हुन नसकेको हो।
यसपटक जसरी पनि निर्वाचन हुनुपर्नेमा जोड रहेको र सोहीअनुसार दबाब सिर्जना गर्न नमुना मतदान आयोजना गरिएको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक विराट दुवाडीले जानकारी दिए।
नमुना मतदान निरीक्षणका लागि अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य विजय पौडेल, केन्द्रीय सदस्य अनुप लामिछाने, विष्णु पोखरेल, विनय पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायत क्याम्पस पुगेका थिए।