
पार्किङमा राखेको भ्यान निकाल्ने क्रममा अनियन्त्रित भई घरभित्र छिर्दा नेपालगन्जमा एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। भ्यानले किचेर नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरका ६ वर्षीय बालक दृश्यसिंह बुढाको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
पार्किङमा रहेको भे१च ३८९५ नम्बरको पिकअप भ्यान बाहिर निकाल्ने क्रममा अनियन्त्रित भएर स्थानीय सञ्जय सिलवालको घरमा छिरेको प्रहरीले जनाएको छ। उक्त घटनामा घरधनी ४३ वर्षीय सञ्जय सिलवाल सामान्य घाइते भएका छन्। घटनामा उनका नातिको मृत्यु भएको सञ्जयले बताए।
भ्यान घरभित्र छिर्दा ६ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सन्जीव सिलवाल पनि घाइते भएका छन्। घाइते बालबालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
भ्यानचालक कोहलपुर नगरपालिका–२ का २३ वर्षीय सुरज थारू र नेपालगन्ज उपमहानगरपालिका–१३, बुलबुलियाका ३८ वर्षीय लियाकत अलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।