मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
तस्बिर : सामाजिक सञ्जाल
२o८१ फाल्गुण १३ मंगलबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासी पश्चिममा दुई समूहबिच झडप, प्रहरीद्वारा हवाई फायर, प्रहरीसहित २० जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १४:२६:oo

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ३ बेलासपुरमा स्थानीय दुई समूहबिच  झडप भएको छ । मंगलबार बिहान पौने १० बजेदेखि सुरु भएको स्थानीयबिचको झडप दुई घण्टापछि प्रहरीको नियन्त्रणमा आएको हो।

पाँच राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाई फायर गरेपछि अहिले प्रहरीको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण थापाले जानकारी दिए।

उनका अनुसार पाँचजना सर्वसाधारण, १२ जना प्रहरी र चारजना सशस्त्र प्रहरी गरी २१ जना घाइते भएका छन्। झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुकी दुई स्थानीयबिच झगडा भएको थियो। त्यही विषयलाई लिएर आज पुनः झडप भए पनि यकिन कारण भने नखुलेको इन्स्पेक्टर थापाले जानकारी दिए। 

अहिले झडप नियन्त्रणमा आए पनि नेपाल प्रहरीका १५० जना र सशस्त्र प्रहरी एक सयजना परिचालन भएको उनले बताए। झडपलाई नियन्त्रणमा लिन ६ जनालाई पक्राउ गरेको जनाइएको छ । प्रेमविवाहको विषयलाई लिएर झडप भएको स्थानीयले बताए पनि प्रहरीले भने झडपको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीको बा.१झ ७४४८ नम्बरको गाडी स्थानीयले आगो लगाइदिएको पनि थापाले बताए ।