
पुनर्वासमा ‘जेष्ठ नागरिक स्मृति एवं सम्मान मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ। निर्वाचन क्षेत्र नम्बर १ वडास्तरीय जेष्ठ नागरिक स्मृति एवं सम्मान मेयर कप, पुरुष तथा खुला भेट्रान फुटबल प्रतियोगिताको शनिबार प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले उद्घाटन गरे।
सांसद तामाङले पुनर्वास क्षेत्रमा रंगशाला बनाउन सके खेलकुद विकासमा टेवा पुग्ने बताए। त्यसका लागि जनप्रतिनिधि, पालिकाका जनप्रतिनिधि र स्थानीयसँग बृहत् छलफल गर्न आवश्यक रहेको बताए ।
पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले पुनर्वासमा रंगशाला बनाउन २५ वर्षका लागि आवास कम्पनीको जग्गा लिजमा लिन खोज्दा पनि नपाएको गुनासो गरे। उपमेयर भुलियाकुमारी रानाले पुनर्वामा रंङशाला बनाउन चौतर्फी माग भएको र पालिकाको बजेटले सो सम्भव नरहेको बताइन्। त्यसका लागि प्रदेश र केन्द्र सरकारबाट योजना ल्याउनुपर्ने उनले बताइन्।
उद्घाटन खेल सिद्धार्थ युवा क्लब पुनर्वास–७ ले न्यू वीरेन्द्र युवा क्लब पुनर्वास–१ लाई ३–१ गोल अन्तरले हराएको छ। आइतबार दुई खेल हुने आयोजक पुनर्वास ३ खेलकुद विकास समितिका अध्यक्ष जिनबहादुर तामाङले जानकारी दिए। पहिलो खेल दिउँसो १ बजे कञ्चन जाइ युथ क्लब (केजेवाइसी) लालझाडी–४ र दशरथ युवा क्लब पुनर्वास–२ बिच हुनेछ। दोस्रो खेल दिउँसो ३ बजे आयोजक पुनर्वास–३ खेलकुद विकास समिति (योङ) र त्रिभुवन युवा क्लब पुनर्वास–६ बिच हुनेछ।
पुनर्वास–३ खेलकुद विकास समिति (कालिका युबा क्लव र राम युबा क्लब) को आयोजनामा भएको प्रतियोगितामा २० टिमको सहभागिता छ। विजेताले एक लाख ५१ हजार १११ रुपैयाँ नगदसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। उपविजेताले ८१ हजार ८ सय १८ नगदसँगै ट्रफी, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छ। प्रतियोगिताको फाइनल खेल २१ फागुनमा हुनेछ।