मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
२o८१ माघ ३० बुधबार १९:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद

आहारारा पोखरा गोल्ड कप : पुलिस फाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १९:२३:oo

नेपाल प्रहरीको विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। 

ए डिभिजन लिग विजेतासमेत रहेको चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो। पुलिसको जितमा खेलको ५८औँ मिनेटमा सन्जीव लामाले गरेको एक मात्र गोल निर्णायक बन्यो। पुलिसका खेलाडीले थ्रो हानेको बल चर्च ब्वाइजका राज भुसालले क्लियर गर्न खोज्दा सन्जीवले भेटाएसँगै करिब ३६ यार्डबाट सीधै पोस्टमा पुगेको थियो। खेलमा निर्णयक गोल गर्ने सन्जीव प्लेअर अफ द म्याच घोषित भएका थिए।

२४औँ संस्करण जारी रहँदा बुधबार पुलिस र चर्च ब्वाइज बिचमा भएको खेल प्रतियोगिताको २५०औँ खेल हो। 

जितसँगै पुलिसले यसअघिका दुई संस्करणको हारको बदलासमेत चर्च ब्वाइजसँग लिएको छ। प्रतियोगिताअन्तर्गत २२औँ संस्करणको प्रि–क्वार्टरफाइनल २–१ गोल अन्तरले र २३औँ संस्करणको क्वार्टरफाइनलमा १–० गोलअन्तरले चर्च ब्वाइजसँग पुलिस पराजित भएको थियो। 

फाइनलमा स्थान सुरक्षित गरेको पुलिसले यसअघि उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलअन्तरले र क्वार्टरफाइनलको खेलमा पाहुना टोली बेलायतको बिग्रेड ब्वाइज क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। चर्च ब्वाइजले प्रि-क्वार्टरफाइनलमा एनआरटीलाई सडनडेथमा र क्वार्टरफाइनलमा साबिक विजेता विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

फाइनलमा पुगेको पुलिसले बिहीबार अर्थात् १ फागनुमा थ्री स्टार क्लब र पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबिच हुने खेलको विजेतासँग उपाधिका लागि ३ फागुनमा हुने खेलमा प्रतिस्पर्धा गर्नेछ।