![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Lagu_Ausad2025-02-12-06-28-22.jpeg)
प्रहरीले मकवानपुरका छुट्टाछुट्टै दुई स्थानबाट ४ ग्राम २३० मिलिग्राम लागुऔषध खैरो हेरोइन र दुई केजी १४० ग्राम अफिमसहित पाँचजना पक्राउ गरेको छ।
खैरो हेरोइनसहित पक्राउ पर्नेमा मकवानपुरगढी–४, सामरीका ३९ वर्षीय सुबी गुरुङ, नवलपरासी पश्चिम सुस्ता घर भई मकवानपुर–५ स्थित चुन फ्याक्ट्रीमा काम गर्ने ३४ वर्षका सुरजकुमार पाण्डे र हेटौँडा–१, चौकीटोलका वर्ष ३४ का नवराज भट्ट रहेका छन्।
यस्तै, अफिमसहित पक्राउ पर्नेमा बारा जिल्लाको कलैया नगरपालिका–४ बस्ने १८ वर्षको दीपक साह र बारा जिल्लाकै सिम्रौनगढ नगरपालिका–१ बस्ने बस्ने १९ वर्षको शशी मुखिया रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१, झोलुंगे पुलनजिकै रहेको चिया पसलभित्र प्लास्टिकमा स–सानो पुरिया बनाई प्याकिङ गरी लिएर हिँड्न लागेको अवस्थामा ४ ग्राम २३० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरिएको हो।
यसैगरी, जिल्लाको राक्सिराङ गाउँपालिका–५ स्थित बोटबारीनजिक पैदल हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका मुखिया र साहलाई पक्राउ गरेको हो। प्रहरी प्रवक्ता अर्यालका अनुसार प्रहरीले मुखिया र साहले बोकेको कालो झोलाभित्र प्लास्टिकले बेरेको लागुऔषध अफिम बरामद गरेको हो।
लागुऔषध अफिम र हेरोइनसहित पक्राउ परेका पाँचजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता अर्यालले बताए।