![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/samsad2025-02-12-10-15-41.jpeg)
सत्तापक्षले निरन्तर संसदीय अभ्यास र प्रक्रिया मिचेपछि मंगलबारको प्रतिनिधिसभा बैठक तनावग्रस्त बनेको छ । संसदीय समितिमा विधेयक हुँदाहुँदै अध्यादेश ल्याउने, आफैँले ल्याएको विधायन विधेयकमा सरकारका मन्त्रीले आफैँ संशोधन गर्ने कदमपछि मंगलबार सत्तापक्षका सांसदले प्रतिनिधिसभा नियमावली मिचेर सभामा बोलेपछि विपक्षीले प्रतिवाद गरेका हुन् । प्रतिवादका कारण प्रतिनिधिसभाको बैठक नै स्थगित भएको थियो ।
बैठकमा प्रमुख प्रतिपक्षी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आकस्मिक समयमा बोल्दै संसद्को समग्र क्रियाकलापमा सरकारले मिनिमाइज, अपहेलना गरिरहेको र जनताको प्रतिनिधिको आवाजलाई ठिक ढंगले सुन्न नचाहेको बताए । पाण्डेले कार्यव्यवस्था परामर्श समितिबाट तय भएको भ्रष्टाचार निवारणसम्बन्धी विधेयक प्रस्तुत र पारितको सूची मंगलबारको बैठक कार्यसूचीबाट हटाएकोमा आपत्ति पनि जनाए । समितिबाट सर्वसम्मत पारित भएर आएको विधेयकबारे सरकारले संसद्को प्रक्रिया अभ्यास र समग्र प्रक्रियालाई वास्ता नगरिएको पाण्डेको भनाइ छ ।
प्रमुख प्रतिपक्षीका प्रमुख सचेतक पाण्डेको भनाइमा नियमापत्ति गर्न सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले समय मागे । बर्ताैलाले बैठक संसद्को नियमावलीबाट चल्ने बताए । उनले भने– ‘तलबाट के लाग्यो त्यसको आधारमा सामान्यतया बैठक चल्दैन । नियमावलीको नियम १२ ले सभामुखको निर्देशनअनुसार कार्यसूची तलमाथि हुन्छ ।’ सत्तापक्षका मुख्य सचेतकले नियमापत्तिभन्दा पनि भाषण दिएको भन्दै रास्वपाका गणेश पराजुलीले नियम ९३ बमोजिम नियमापत्ति गरे । ‘सत्तापक्षको यो पेलाइ कस्तो हो ? सदन सञ्चालनका लागि नियमावली छ । तर, सत्तापक्षले जतिखेर चाहियो त्यतिखेर, जसरी चाह्यो त्यसरी पेलान गर्न पाइन्छ ?’ उनले प्रश्न गरे ।
त्यसपछि बैठकमा शून्य समय चल्यो । सांसदहरूले आफ्नो धारणा राखे । शून्य समय सकिँदा सभामुखको आसनमा सभा सञ्चालनका लागि उपसभामुख इन्दिरा राना थिइन् । उनले विशेष समय शुभारम्भ भएको घोषणा गरिन् । यत्तिकैमा कांग्रेसका रामहरि खतिवडा उठेर समय मागे । उपसभामुख रानाले सचिवालयसँग समन्वय गरेर सहमतिमा खतिवडालाई दुई मिनेट समय दिइन् । जुन ठाडै प्रक्रिया मिच्ने कदम थियो । संसद्को नियमावलीले व्यवस्था गरेको प्रक्रियाविपरित समय पाएका खतिवडाले विपक्षी रास्वपाले उठाएका सवालमा प्रतिवाद गरे । रास्वपाका गणेश पराजुलीले नियम २६ बमोजिम नियमापत्ति गरे । त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि नियम २६ बमोजिम नियमापत्ति गरे । सभामुखको आसनमा रहेकी उपसभामुख रानाले ‘गम्भीर ध्यानाकर्षण भएको र यसमा के कसो भएको हो, अध्ययन गर्न सचिवालयलाई आदेश गरिसकेको’ जानकारी गराइन् । तर, माओवादी, रास्वपालगायत विपक्षी दलहरूले मानेनन् । त्यसपछि चेयरमा पुनः सभामुख घिमिरे आए । ‘सभामुखको चेयरको हैसियतले यहाँबाट के भएको हो अध्ययन गर्न आदेश गरिसकिएको छ, के गर्नुपर्छ भन्ने कुरा सचिवालयले छलफल गरेर उसले आफ्नो धारणा दिइसकेपछि अगाडि बढ्न सकिन्छ,’ उनले भने ।
तर, विपक्षी सांसदहरूले मानेनन्, त्यसपछि घिमिरेले चर्काे स्वरमा ‘माननीय सदस्यहरू यहाँहरूलाई समय दिँदा प्रश्न उठ्छ कि उठ्दैन ? त्यसैले ख्याल गर्नुस् । यहाँहरूलाई समय दिँदा प्रश्न नउठ्ने, अरूलाई समय दिँद प्रश्न उठ्ने, यस्तो हुन सक्दैन । त्यसकारण यो बैठक १५ मिनेटका लागि स्थगन हुन्छ’ भनेर बैठक स्थगित गरेका थिए ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक स्थगित भएपछि खतिवडालाई नियमविपरीत समय दिएको विषयमा छलफल भएको छ । ‘छलफल गर्यौँ । आदेशअनुसार प्रतिवेदन ल्याएर सचिवालयले पेस गर्ने कुरा भयो । सचिवालयको कमजोरी देखियो,’ उनले भने, ‘प्रक्रियाको कुरा उठाइरहेका छौँ । पटक्कै ख्याल गरिएको छैन । आकस्मिक समयमा जसरी सभामुखले विषयवस्तु रोक्नुपथ्र्याे त्यो रोक्न सक्नुभएन । दलको भनाइ नै प्रक्रिया मिचियो । के हो जवाफ दिन्छौँ भनेपछि हामीले छोड्यौँ,’ पाण्डेले भने ।