मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ २३ बुधबार २o:२७:oo
Read Time : < 1 मिनेट
समाचार

सात दिनदेखिको बन्द खुलेपछि सामान्य बन्दै पूर्वी नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार २o:२७:oo

१५ माघदेखि बन्द रहेको पूर्वी नेपालको यातायात सेवा खुलेसँगै जनजीवन सहज बन्दै गएको छ। ताप्लेजुङको पाथीभरा क्षेत्रको बलुडाँडामा १२ माघमा ‘नो केबलकार समूह’ र प्रहरीबिच केबलकार निर्माणको विषयमा झडपपछि यस क्षेत्रमा १५ माघदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउँदै उक्त समूहले बन्द घोषणा गरेको थियो। 

मंगलबार सरकार र ‘नो केबलकार’ पक्षधरबिच ६ बुँदे सहमति भएपछि पूर्वी नेपालमा यातायात सेवा खुलेको हो। ६ बुँदे सहमति भएसँगै मंगलबार रातिदेखि यातायात सञ्चालनमा आएका थिए। बन्दका कारण रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ  जान थालेका छन् भने नियमित सूचीअनुसारका यातायात सेवा बुधबार बिहानदेखि सञ्चालनमा आएका छन्। 

आन्दोलनरत समूहले १५ माघदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्दको आह्वान गरेको थियो। २२ माघमा वार्तामा सहमति कायम हुनुअघि अरुणपूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ,  सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा बन्द भएका थिए। 

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले यातायात सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तुहरूको आयात–निर्यात पनि सामान्य अवस्थामा फर्कने विश्वास लिएको बताए। 

सोमबार र मंगलबार चलेको वार्तामा ६ बुँदे सहमति जुटेसँगै २७ माघमा पुनः वार्ता गर्ने सहमति भएको छ। सहमतिअनुसार पाथीभरा केबलकारको सबस्टेसनमाथिको कार्य स्थगित गरिनेछ भने स्टेसनको सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल हुनेसमेत सहमाति भएको छ।