मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ २३ बुधबार १९:२७:oo
Read Time : > 1 मिनेट
खेलकुद

आहा ! रारा पोखरा गोल्ड कप : मच्छिन्द्र अन्तिम आठमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १९:२७:oo

पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा मच्छिन्द्र फुटबल क्लब प्रवेश गरेको छ। प्रतियोगिताको दोस्रो प्रिक्वार्टरफाइनल खेलमा विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले अन्तिम आठमा स्थान बनाएको हो।

जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको मच्छिन्द्रले सेमिफाइनल प्रवेशका लागि २७ माघमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सात मिनेट अन्तरमा मच्छिन्द्रले दुई गोल गरेको थियो।

खेलको ७४औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । अतिरिक्त खेलाडी शाक्य खेलको ६७औँ मिनेटमा मनीष डाँगीको स्थानमा मैदान छिरेका थिए। उनले आयुष घलानले दिएको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाउन सफल भएका थिए। मैदानको करिब मध्यभागबाट घलानले दिएको पासलाई उपयोग गर्दै विपक्षी तीन रक्षकलाई छलाउँदै डिबक्सभित्रबाट सेकेन्डबार च्याप्दै शाक्यले हानेको बलले सीधै जाली चुमेको थियो ।

खेलको ८१औँ मिनेटमा विदेशी खेलाडी स्टेफन कामाहाले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए । खेलका म्यान आफ द म्याचसमेत रहेका कामाहाले देवेन्द्र तामाङले हानेको फ्रिकिक प्रहारलाई उपयोग गर्दै हेडमार्फत पेनाल्टी क्षेत्रबाट बललाई पोस्टको सही दिशा दिन सफल भएका थिए। 

प्रतियोगितामा यी दुई टोलीको यो दोस्रो भेट हो । यसअघि ०७८ सालमा सम्पन्न २१औँ संस्करणको सेमिफाइनलमा एपिएफले ३–१ गोल अन्तरले मच्छिन्द्रलाई पराजित गरेको थियो ।

यसअघि खेलको सुरु अर्थात् तीन मिनेटमै मच्छिन्द्र सुरुवाती अग्रता लिन चुकेको थियो । ओमालाजा नुरिन करिमले पोस्ट चार्ज गरेको बल विपक्षी किपर एन्जल श्रेष्ठले पन्च गर्दै बचाएका थिए । ४१औँ मिनेटमा डिबक्सभित्रबाट प्रदीप लामाले सेकेन्ड बार च्यापेर हानेको प्रहार बाहिरिँदा खेलमा अग्रता लिनबाट एपिएफ चुकेको थियो । ५०औँ मिनेटमा मच्छिन्द्रका सनिश श्रेष्ठले हानेको प्रहार सीधै विपक्षी किपरको हातमा परेको थियो । ५३औँ मिनेटमा एपिएफका मणि लामाले करिब ३५ यार्डबाट हानेको फ्रिकिक क्रसबार नजिकैबाट बाहिरिएको थियो । 

बिहीबारको खेल एनआरटी  र चर्च ब्वाइज क्लबबिच हुनेछ ।