![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/naya-patrika-banner2025-02-05-07-10-00.jpeg)
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार राष्ट्रिय किताबखाना (शिक्षक) को आकस्मिक अनुगमन गरेकी छिन्। अनुगमनका क्रममा मन्त्री भट्टराईले निवृत्तिभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनका बारेमा जानकारी लिएकी थिइन्।
अनुगमनका क्रममा सेवाग्राहीहरूसँग पनि उनले सेवाको प्रभावकारिताबारे चासो राखेकी थिइन्। अनुगमनपश्चात् मन्त्री भट्टराईले राष्ट्रिय किताबखानाको कामका बारेमा वेला-वेलामा गुनासाहरू आइरहने गरेको हुनाले गुनासा नआउने गरी काम गर्न निर्देशन दिइन्। ‘शिक्षकहरूले पेस गरेको सिटरोलको डिजिटाइजेसन समयमै सक्न र सिटरोल तथा निवृत्तिभरण र सम्पत्ति विवरणका अभिलेखहरूको भण्डारणका लागि तत्काल कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिइन्।
अनुगमनका क्रममा राष्ट्रिय किताबखाना (शिक्षक) का उपमहानिर्देशक युवराज पौडेलले किताबखानाबाट हुने गरेका कामकारबाही र प्रक्रियाका बारेमा जानकारी गराएका थिए। उक्त अनुगमनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिव सापकोटासहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो।