लामो समयदेखि पानी नपर्दा हिउँदे बालीनाली सुक्न थालेका छन्। वर्षा नहुँदा हिउँदेबाली गहुँ, जौ, चना, मसुराेजस्ता बालीनाली बारीमै सुक्न थालेका छन्।
वर्षातको समयदेखि हालसम्म पनि पानी नपर्दा बारीमा छरेको बिउ नै नआउने हो कि भन्ने चिन्ताले सताउन थालेको बनगाड कुपिण्डे नगरपालिका- २ का लक्ष्मण बुढाले बताए। उनले भने, ‘एक त पानी नपरेर बाली बारीमै हराइसक्यो अलि-अलि भएको पनि जंगली जनावरले सखाप पारिसके। यसपालि केले परिवार पाल्ने, गाह्रो हुने भयो।’
पानी नपर्दा फुलेको तोरीमा दाना नलागेको अर्का किसान राजी बुढाले बताइन्। ‘केही सेपिलो जग्गातिर मात्रै हरियो गहुँ जौ देखिन्छ। अन्यत्र सबै स्थान सुक्खा छ,’ उनले भने। खेती लगाएदेखि वर्षा नभएकाले उत्पादनमा ह्रास आउने बुढाको भनाइ छ। हिउँदे बाली नभए वर्षे बालीको भरमा मात्र परिवार चलाउन गाह्रो हुने उनले बताए।
सिचाइँको सुविधा भएको खेतमा लगाएको गहुँ पनि पहिलेजस्तो फस्टाउन नसकी भुइँमै टाँसिएको कालिमाटी गाउँपालिका- ५ का भद्रबहादुर घर्तीले बताए। ‘खेत र पाखो गरी १० रोपनी जग्गामा गत वर्ष ६ मुरी गहुँ उत्पादन भएको थियो। यसपालि बिउ आउनेमा पनि शंका लाग्न थालेको छ।’ उनले भने।
वर्षा नभएकाले गाउँका धेरैजसो पुरुष परिवारको खर्च जुटाउन भारतका बिभिन्न ठाउँमा गइसकेका उनको भनाइ छ। जिल्लामा ३८ हजार ९२६ हेक्टर क्षेत्रफलमा हिउँदे बाली हुँदै आइरहेको छ। सल्यान खाद्यान्नमा आत्मनिर्भर जिल्ला हो। तर, लामो समयको खडेरीले केही समस्या थपिने देखिन्छ।