सल्यानमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। वर्षा, उन्नत बिउको बढ्दो प्रयोग र मलखादको सहजताले धानको उत्पादन र उत्पादकत्व बढेको हो। कृषि विकास कार्यालय सल्यानका अनुसार चालू आर्थिक वर्ष ०८१/८२ मा ६ हजार हेक्टर क्षेत्रफलमा २८ हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको छ। आर्थिक वर्ष ०८०/८१ मा ६ हजार २९ हेक्टर क्षेत्रफलमा २८ हजार ५५९ मेट्रिकटन धान उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले जानकारी दिए। गत आर्थिक वर्षभन्दा तीन हजार १९ मेट्रिकटन धान बढी उत्पादन भएको उनको भनाइ छ।
क्षेत्रफल करिब बराबर भए पनि उत्पादकत्वमा वृद्धि आएको घर्तीले बताए। उनले भने, ‘उत्पादन बढ्नुको मुख्य कारण उत्पादकत्वमा आएको वृद्धि नै हो। समयमै भएको वर्षा, उन्नत बिउको प्रयोग र रासायनिक मलको सहजताले यो सम्भव भएको हो।’
बढ्दो सहरीकरण तथा खेती गर्ने जनशक्ति अभावका कारण खेतीयोग्य जमिन भने विस्तारै बाँझिँदै जान थालेको छ। आर्थिक वर्ष ०७९/८० मा ७ हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। आव ०७९/८० भन्दा चालू आवसम्म आइपुग्दा १०३७ हेक्टर जमिनमा खेती भएको पाइँदैन।
जनशक्ति अभाव, सहरीकरणको प्रभावलगायत कारण खेतीयोग्य जमिन मासिँदै गएको कार्यालयले जनाएको छ। जिल्लाका मर्मपरिकाँडा, बनगाड जिउला, गरी जिउला, रेशम जिउली, कालिमाटी रामपुर, काल्चे काप्रेचौरलगायत क्षेत्र धानको पकेट क्षेत्रका रूपमा लिने गरिन्छ। सल्यान हालसम्म खाद्यान्नमा आत्मनिर्भर जिल्लामा पर्दछ।