मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
रासस घोराही
२o८१ पौष १६ मंगलबार १२:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गोलभेँडा बेचेर वार्षिक सात लाख नाफा

Read Time : < 1 मिनेट
रासस, घोराही
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार १२:२८:oo

दाङको घोराही उपमहानगरपालिका– १२ हापुरका जयबहादुर रोकाको बारीमा यतिवेला लटरम्मै टमाटर पाकेको छ। बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याई छ उनलाई। विगत तीन वर्षदेखि व्यावसायिक टमाटर खेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन्।

भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन्। ‘यस वर्ष समयमै उत्पादन गरेकाले  बजारको समस्या छैन,’ उनले भने, ‘यही खेतीलाई निरन्तरता दिने सोचमा छु।’

रोल्पा रुन्टिगढी गाउँपालिका– ७ बाट यहाँ बसाइँ सरी आएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रूपमा काम गरे। उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका हुन्। हाल उनी टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक रु. सात लाख बचत गर्न सफल भएका छन्।

वार्षिक रु. १८ लाखको टमाटर बिक्री गरे पनि मल, बिउ, कामदार, जग्गाभाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ। ‘१० जनालाई रोजगारी दिएको छु,’ रोकाले भने, ‘पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ, तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो।’ 

मंसिरसम्म थोकमा प्रतिकिलो रु. ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए। उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटर खेती गरेका छन्। आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले सुनाए। जग्गाको वार्षिक भाडा रु. ९८ हजार तिर्ने गरेका छन्। परिवारमा आठ सदस्य छन्। टमाटर खेतीकै कमाइले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन्। गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनी बताउँछन्।