Skip This
नेपाल प्रिमियर लिग : कर्णालीले भित्र्यायो शिखर धवनलाई
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
कर्णाली याक्ससँग सम्झौता गर्दै भारतका शिखर धवन (नीलो जर्सी)
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ३० शुक्रबार १o:४o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिग : कर्णालीले भित्र्यायो शिखर धवनलाई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १o:४o:oo

भारतबाट ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० आई खेलेका ओपनर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा आबद्ध विदेशी खेलाडीमध्ये अहिलेसम्म ठुलो नाम गरेका भारतीय पूर्वक्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेको छ । यसअघि विराटनगरका मार्टिन गुप्टिल एनपिएलकै ठुला नाम गरेका क्रिकेटर थिए । सन् २०११ देखि ०२२ सम्म भारतबाट तीनवटै फर्म्याट टोलीबाट प्रतिस्पर्धा गरेका बायाँहाते क्रिकेटर धवन भित्र्याउन कर्णालीले एक करोडभन्दा बढी नेपाली रुपैयाँ खर्च गरेको छ । उनी कर्णालीमा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् ।

विश्व चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) कै स्टार खेलाडीको सूचीमा रहेका धवनसँग सम्झौता गर्न कर्णालीका मालिक झनकदत्त खनाल र सहमालिक गृहेन्द्र घिमिरे भारत पुगेका थिए । दुई पक्षबिच बिहीबार सम्झौता हुँदा भारतका लागि कार्यबाहक राजदूत डा. सुरेन्द्र थापा पनि उपस्थित थिए । धवनलाई आधिकारिक रूपमा कति रकममा सम्झौता गरेको भन्ने खुलाएको छैन । 

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीबाट खेल्न आफू उत्साहित रहेको धवनले बताएका छन् । ‘नेपालको एनपिएल र कर्णालीबाट प्रतिस्पर्धा गर्न म तयार छु,’ धवनले भनेका छन् । कर्णालीका मालिक खनालले एनपिएलमा विश्व चर्चित खेलाडी भित्र्याउने सपना पूरा भएको बताए । एनपिएलमा धवन जोड्निु नेपाली क्रिकेटका लागि ठुलो उपलब्धि भएको उनको भनाइ छ । ‘विश्वकै चर्चित क्रिकेटरलाई नेपालमा खेलाउन पाउँदा सिंगो कर्णाली नै खुसी छ,’ उनले भने, ‘यो हाम्रो र नेपाली क्रिकेटको लागि ठुलो उपलब्धि हो ।’ सहमालिक घिमिरेले आर्थिक चुनौतीबिच भारतका खेलाडीलाई अनुबन्ध गर्न सफल भएको बताए । 

‘आर्थिक चुनौतीका बाबजुद विश्व क्रिकेटमा प्रसिद्धि कमाएका खेलाडी धवनलाई आगामी लिगको लागि अनुबन्ध गर्न सफल भयौँ,’ घिमिरेले भने, ‘यससँगै नेपाली क्रिकेट र कर्णाली सफलता हात पार्ने आशा हामीले गरेका छौँ ।’ कार्यबाहक राजदूत थापाले धवनलाई कर्णालीमार्फत नेपालमा भित्र्याउनु पर्यटन प्रवद्र्धनका लागि सुखद सन्देश रहेको बताए । ‘उनलाई एनपिएलमा भित्र्याउँदै पर्यटन प्रवद्र्धनमा कर्णालीले सुखद सुरुवात गरेको छ,’ उनले भने । 

नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको मुख्य प्रशिक्षणमा रहेको कर्णालीले यसअघि वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको थियो । मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् । टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । 

अक्सनबाट कर्णालीले ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की भित्र्याएको थियो । ‘सी’ श्रेणीमा रहेका दीपेन्द्र रावत र युनिसविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे कर्णालीमा अनुबन्ध भएका थिए ।

धवनको क्रिकेट करिअर
धवनले भारतका लागि ३४ टेस्ट, एक सय ६७ एकदिवसीय र ६८ टी–२० आई खेलेका छन् । उनले टेस्टमा ७ शतक र एकदिवसीयमा १७ शतकीय इनिङ्स खेले । टेस्टमा उनको नाममा दुई हजार तीन सय १५ रन छ । एकदिवसीय खेलमा उनले ३९ अर्धशतकको सहयोगमा ६ हजार ७९३ रन जोडेका छन् । टी–२० आईमा एक हजार सात सय ५९ रन बनाउन उनले ११ अर्धशतकीय इनिङ्स खेलेका थिए । इनिङ्सको पहिलो बलदेखि नै आक्रामक शैलीमा ब्याटिङ गर्न रुचाउने धवनले एकदिवसीयमा आठ सय ४२ चौका र ७९ छक्का प्रहार गरेका थिए । उनले टी–२० आईमा तीनपटक नटआउट इनिङ्स खेलेका थिए । यस विधामा उनले ५० छक्का र एक सय ९१ चौका हिर्काए ।

धवनले भारतको पहिलो श्रेणीमा ३ सय २ खेलमा २५ शतक तथा २९ अर्धशतकीय इनिङ्स खेले । लिस्ट ‘ए’ मा उनको नाममा ३० शतक र ६७ अर्धशतक समावेश छ । उनले अन्तिमपटक भारतका लागि सन् २०२१ मा श्रीलंकाविरुद्ध टी–२०आई खेल खेलेका खेलेका थिए । सन् २०२२ को बंगलादेशविरुद्धको एकदिवसीय खेल अन्तिमपटक उनले खेलेका थिए । 

आइपिएलमा धवनले गत सिजन पञ्जाव किंग्सबाट खेलेका थिए । आइपिएल इतिहासमा पाँच फरक फ्रेन्चाइज टोलीबाट प्रतिस्पर्धा गरेका उनले दुई सय २२ खेलमा २ शतकको सहयोगमा ६ हजार ७६९ रन बनाएका छन् । उनी आइपिएलमा लगातार दुई खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनी आइपिएलमा सर्वाधिक रन बनाउनेमा विराट कोहलीभन्दा मात्र पछि छन् । उनले सबैखाले टी–२० मा गरी तीन सय ३४ खेल खेलेबाट नौ हजार सात सय ९७ रन बनाएका छन् ।