१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २९ बिहीबार १o:५८:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

मस्क र रामास्वामी नयाँ सरकारी दक्षता विभागको प्रमुखमा नियुक्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार १o:५८:oo

संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलोन मस्क र रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका पूर्वआकांक्षी विवेक रामास्वामीलाई भविष्यमा निर्माण गरिने ‘सरकारी दक्षता विभाग’को नेतृत्वमा चुनेका छन् । ट्रम्पले यस नयाँ निकाय आफू ह्वाइट हाउसमा फर्किएपछि स्थापना गर्ने योजना बनाएका छन् । ‘यी दुई अद्वितीय अमेरिकीले मेरो सरकारको पालामा सरकारी कर्मचारीतन्त्र कटौती गर्ने, अनावश्यक नियम–कानुन हटाउने, फजुल खर्च कटौती गर्ने र संघीय निकायहरूको पुनः संरचनाको मार्ग प्रशस्त गर्नेछन् ,’ ट्रम्पले मंगलबार एक विज्ञप्ति जारी गर्दै भने , ‘हामी देशको वार्षिक ६.५ ट्रिलियन( ६५ खर्ब) डलर सरकारी खर्चमा कायम अथाहा फजुल खर्च र अनियमितता बाहिर ल्याउनेछौँ ।’

ट्रम्पका अनुसार मस्क र रामास्वामीले अमेरिकाको स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर भएको अढाई सर्यौं वार्षिकोत्सव अर्थात् जुलाई ४, २०२६ सम्ममा आफ्नो काम पूरा गर्नेछन् । ‘चुस्त सरकार, उच्च दक्षता र सानो नोकरशाही अमेरिकाका लागि उत्तम उपहार हुनेछ,’ ट्रम्पले भने । भविष्यमा बन्ने यस निकायले ह्वाइट हाउससँगको समन्वयमा काम गर्ने ट्रम्पले बताए ।

चुनावी प्रतिबद्धता
प्रस्तावित निकाय ट्रम्पले चुनावी अभियानको समयमा आफ्ना मस्कसँग गरेको कुराकानीबाट प्रेरित भएको देखिन्छ । गत अगस्ट १३ मा ट्रम्पले समाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा मस्कसँग दुई घण्टा संवाद गरेका थिए । प्रत्यक्ष प्रसारण भएको उक्त संवादमा अर्बपति मस्कले पहिलोपटक सरकारी आयको बर्बादी हटाउन नयाँ ‘आयोग’ गठनबारे ट्रम्पलाई सुझाएका थिए । जवाफमा ट्रम्पले मस्कजत्तिको खर्च कटौती गर्ने अनुभव भएको व्यक्ति अरू नभएको बताए । ‘त्यस्तो कामका लागि मलाई तपाईंजस्तै मानिस चाहिन्छ । मलाई धेरै साहस र बुद्धि भएको व्यक्ति चाहिन्छ,’ ट्रम्पले त्यस वेला भनेका थिए । 

ट्रम्पले पछि सेप्टेम्बरमा ‘न्युयोर्क इकोनोमिक क्लब’को सम्बोधन तथा अन्य अवसरमा यस विचारलाई उठाइरहे । ‘म सम्पूर्ण संघीय सरकारको पूर्ण वित्तीय र कार्यसम्पादन लेखा परीक्षण गर्न र कठोर सुधारका लागि सिफारिसहरू गर्ने जिम्मेवारी दिने सरकारी दक्षता आयोग गठन गर्नेछु,’ ट्रम्पले न्युयोर्क इकोनोमिक क्लबको सम्बोधनमा भनेका थिए । 

नयाँ विभाग स्थापना भएपछि त्यसले कसरी काम गर्नेछ भन्ने केही स्पष्ट गरिएको छैन । मंगलबारको ट्रम्पको विज्ञप्तिले रामास्वामी र मस्कले सरकारबाहिरै रहेर सल्लाह र निर्देशन दिने संकेत गरेको छ । आलोचकहरूले भने अमेरिकी सरकारको जवाफदेहिता तथा दक्षता सुनिश्चित गर्न र लेखा परीक्षण गर्न ‘गभर्नमेन्ट एकाउन्टिबिलिटी अफिस’जस्ता स्वतन्त्र र निष्पक्ष नियामक निकाय पहिले नै अस्तित्वमा रहेकाले अलग निकायको औचित्यमाथि प्रश्न उठाएका छन् । 

यद्यपि ट्रम्पको मंगलबारको घोषणाले निजी क्षेत्रका आफ्ना दुई प्रमुख समर्थकलाई पुरस्कृत गर्ने तयारी गरेको देखिन्छ । दक्षिण अफ्रिकामा जन्मिएर क्यानडामा पढी अमेरिका आएका मस्क विद्युतीय कार कम्पनी टेस्लाका संस्थापक तथा सामाजिक सञ्जाल एक्स तथा रकेट निर्माण कम्पनी स्पेसएक्सका मालिक हुन् । उता भारतीय मूलका अभिभावकका रामास्वामी एक औषधि कम्पनीका संस्थापक हुन् । यस वर्षको सुरुमा, उनले रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेदवारीका लागि प्राइमरी लडेका थिए ।  जनवरीको आयोवा ककसमा चौथो स्थानमा परेपछि उनले उम्मेदवारी त्यागे । लगत्तै उनले ट्रम्पलाई समर्थन जनाएका थिए । ट्रम्पको चुनावी अभियानमा दसौँ लाख डलर दान गरेका मस्क नियमित फ्लोरिडास्थित ट्रम्पको रिजोर्टमा जाने गरेको समाचार आइरहेका छन् । 

सन् २०१६ को पहिलो राष्ट्रपतिकालमै ट्रम्पले सरकारलाई सानो र चुस्त बनाउने र उनकै भनाइअनुसार वासिंटन डिसीलाई अनावश्यक नोकरशाही र भ्रष्टाचारको दलदलबाट निकास दिने वाचा गरेका थिए । ट्रम्पले सो वाचालाई दोस्रो कार्यकालमा पूरा गरिछाड्ने दाबी गरेका छन् । चुनावी अभियानका क्रममा उनले संघीय सहायता प्रदान गर्ने, विद्यालयमा हुने भेदभावलाई रोक्ने र शैक्षिक उपलब्धिसम्बन्धी अनुसन्धान प्रकाशित गर्ने र शिक्षा मन्त्रालयलाई बन्द गर्ने वाचा गरेका थिए । उता मस्कले एकपटक संघीय कार्यहरूको समीक्षा गर्ने अधिकार दिइएमा आफूले दुई ट्रिलियन डलरभन्दा बढी फजुल खर्च कटौती गर्न सकिने दाबी गरेका थिए । यो भनेको अमेरिकी सरकारको कुल वार्षिक खर्चको लगभग एकतिहाइबराबरको रकम हो ।