१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २९ बिहीबार o८:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आर्थिक कूटनीतिमा जोड दिने राजदूतहरूको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o८:५o:oo

विभिन्न मुलुकका लागि नवनियुक्त तथा प्रस्तावित १७ नेपाली राजदूतहरूले आर्थिक कूटनीतिमा जोड दिँदै नेपालको लगानी एवं पर्यटन प्रवर्द्धनमा जोड दिने बताएका छन् । यसका लागि नेपाल र सम्बन्धित देशका निजी क्षेत्रसँग सहकार्य गर्ने उनीहरूले बताएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतबिच बुधबार भएको अन्तरक्रियामा उनीहरूले यस्तो बताएका हुन् । 

बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्विपक्षीय कर मुक्ति सम्झौताका लागि पहल गर्नुपर्ने बताए । चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्णप्रसाद वलीले नेपालको हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने बताए । भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले भारतमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुपर्ने बताए । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिल श्रेष्ठ, पाकिस्तानका लागि राजदूत रीता धिताल, साउदी अरबका लागि राजदूत नरेश ढकाल, स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपाल, पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेल र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सेनाले निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए ।

कतारका लागि प्रस्तावित राजदूतले कतार चेम्बरसँग महासंघले संयुक्त परिषद् स्थापना गरिसकेको सन्दर्भमा यसबाट फाइदा लिन सहकार्य गर्नुपर्ने बताए । जर्मनका लागि नेपालका राजदूत डा. सहयोग रूपाखेती युरोपेली मुलुकमा जाने मुलुकहरूमा जिएसपी प्लस सुविधा लिनका लागि महासंघले पहल गर्नुपर्ने बताए । 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका संयन्त्र र नेटवर्कसमेत उपयोग गरी आर्थिक कूटनीति विस्तार गर्न राजदूतहरूलाई आग्रह गरे ।