१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
२o८१ कार्तिक २८ बुधबार १o:५९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङको खुदीमा दोस्रो मर्स्याङ्दी महोत्सव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १o:५९:oo

महोत्सवमा २५ लाखभन्दा बढीको भिरमह बिक्री हुने अनुमान

हरिबाेधिनी एकादशीको अवसरमा लमजुङको खुदीमा दोस्रो मर्स्याङ्दी महोत्सव आयोजना गरिएको छ । हरिबोधिनी एकादशीको अवसर पारेर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा मंगलबारेदेखि मंसिर १ गतेसम्म  एकादशी मेलाको साथमा पाँचदिने दोस्रो मर्स्याङ्दी महोत्सव ०८१ आयोजना गरिएको हो ।

पालिकालाई ‘होमस्टे हब’ बनाउने लक्ष्य लिएको मर्स्याङ्दी गाउँपालिकाले महोत्सव अवधिभर पालिकाभित्रका विभिन्न पर्यटकीय गाउँहरूमा होमस्टेको प्याकेज बनाएको छ । गुरुङहरूको आदिम थलोसमेत रहेको सुन्दर घनपोखरा, सिउरुङ, नयाँगाउँ, मिप्रा, छापा, उस्ता, छिनखोला, ढंगै, खानीगाउँ रक गार्डेन, सञ्जापुलगायतका ग्रामीण पर्यटन र होमस्टेहरूको प्रचारप्रसार गरी ती गाउँहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने कार्यक्रम गर्न लागिएको हो ।

महोत्सवअन्तर्गत मर्स्याङ्दी नदीमा फूलको डोरी तार्ने, सांस्कृतिक कार्यक्रम, वडास्तरीय भलिबल प्रतियोगिता, स्वास्थ्य शिविर सञ्चालन गरी राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थन पार्क र डा. हर्क गुरुङ समाधिस्थल पार्कमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । कात्तिक २९ गतेका मर्स्याङ्दी गाउँपालिका– ४ स्थित जगत बजारमा जगत तातोपानी महोत्सव गरिनेछ । सो दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री–वितरणलगायत कार्यक्रम तय गरिएको छ ।

यसैगरी, कात्तिक ३० गते मर्स्याङ्दी गाउँपालिकाका विभिन्न वडाका भिरहरूमा भिरमह सिकार (हनी हन्टिङ)को कार्यक्रम तय गरिएको छ । घनपोखराका साथै ताघ्रिङको काप्रेभिर, स्याँगेभिर, मिप्रा, घेर्मु, बाहुनडाँडाका विभिन्न भिरमा भिरमौरी सिकारको कार्यक्रम तय गरिएको पालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

यसैगरी, मंसिर १ गते मर्स्याङ्दी गाउँपालिका– ४ स्याँगेमा रहेको स्याँगे छहरा, च्याम्चेको बुङ झरना र अक्टोपस झरनामा पनि महोत्सवको तयारी गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । पर्यटकीय महत्त्वका यी झरनाको प्रचारप्रसारका साथै स्थानीय कला–संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्रीको कार्यक्रम राखिएको छ ।

मर्स्याङ्दी महोत्सवमा २५ लाखभन्दा बढीको भिरमह बिक्री हुने अनुमान छ । ‘महोत्सवमा २५ लाखबराबरको भिरमह बिक्री गर्ने लक्ष्य छ,’ अध्यक्ष गुरुङले भने, ‘त्यसबाहेक स्थानीय कृषिका अर्गानिक उत्पादनहरूको बजार प्रवर्द्धनको काम हुनेछ ।’ महोत्सवबाट गाउँपालिकाको पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा सहयोग पुग्ने उनको विश्वास छ ।