१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १७:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले बिचौलियाको स्वार्थमा काम गर्दा जनता थप निराश : उपमहासचिव पुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १७:१३:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको बताएका छन्।

गृहजिल्ला रोल्पाको राङसीमा सहिद स्मृति युवा क्लबको १५औँ वार्षिकोत्सवमा बोल्दै उनले सरकार जनआकांक्षा र भावनाअनुसार नचलेको बताए। पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारबाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्त्वले प्रतिनिधिसभाका दुई प्रमुख दल कांग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा सरकार गठन गरेको उनको आरोप छ।

सरकारले यो तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्त्वहरूकै स्वार्थमा काम गरेको टिप्पणी पुनले गरे। ‘बिचौलिया तत्त्वहरूले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे,’ उनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो। सरकारले कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन र सकारात्मक बाटो लिएको छैन।’

सरकारले जनतामा आशा जगाउन नसकेको र मुलुकमा निराशा बढ्दै गएको उनको भनाइ छ। सरकारमा रहेका दलहरूलाई जनताका आकांक्षा र भावनाअनुसार काम गर्न सुझाउँदै उनले प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग गर्ने र खराब काम गर्दा विरोध गर्ने स्पष्ट गरे।

फरक प्रसंगमा पुनले पञ्चायतको ३० वर्ष र ०४६ सालपछिको बहुदलीय संसदीय व्यवस्थाको १५ वर्षमा भन्दा गणतन्त्र स्थापनापछिको १५ वर्षमा भौतिक पूर्वाधार निर्माण र विकासका काम धेरै भएको औँल्याए।

आफूले अर्थमन्त्रीका रूपमा चालू आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दा तथ्यांक नै पेस गरेको उल्लेख गर्दै उनले ३० वर्षको पञ्चायतकालमा सात हजार किलोमिटर, संसदीय व्यवस्थाको अवधिमा १८ हजार किलोमिटर र गणतन्त्र स्थापनापछिको पछिल्लो १५ वर्षमा देशभर एक लाख किलोमिटर सडक निर्माण भएको बताए। त्यसलाई उनले गणतान्त्रिक व्यवस्थाको सकारात्मक सूचकका रूपमा व्याख्या गरे।

यद्यपि, अहिले भएकै विकासबाट सन्तुष्ट भएर बस्न नमिल्ने प्रस्ट्याउँदै उनले धेरै गर्न बाँकी रहेको औँल्याए। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र खानेपानीका पूर्वाधारमा धेरै काम गर्न बाँकी रहेको पुनको भनाइ छ।