१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ५ शनिबार १५:४७:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँः प्रचण्ड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १५:४७:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने अब आफूहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले आज काठमाडौंमा गरेको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेन्डामा गर्नुपर्ने धारणा राखे।

अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पुँजीपती,  नोरशाह र माफियाहरूलाई नपचेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको बताए।

‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अंगको रूपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिविना गर्न खोजिने संविधान संशोधनको प्रयास बेइमानी र जालझेलबाहेक अरू हुन सक्दैन,’ उनले भने, ‘हाम्रो सहमतिविना संविधान संशोधन गर्ने उनीहरूलाई राजनीतिक र नैतिक दुवै अधिकार छैन।’

तर, इमानदारीका साथ संविधान संशोधनको एजेन्डा उठाउन खोजे आफूहरू त्यसका लागि तयार हुने पनि उनले स्पष्ट गरे। ‘अग्रगमनमा जानका लागि हो भने अहिले संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले संविधान निर्माण गर्दा प्रस्ट रूपमा हाम्रो एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो, तर यसमा कांग्रेस र एमाले सहमत नभएकाले हामी कुनै पनि दिन यो मुद्दा लिएर आन्दोलनमा जाने छौँ भनेर नोट डिसेन्ट लेखेका छौँ। अब हामी यो एजेन्डालाई लिएर अगाडि बढ्छौँ।’ 

प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक रहेको उनले बताए। ‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा दश करोड र संघमा पचास करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने काममा बढी लाग्न थालेको देखियो। त्यसैले हाम्रो भनाइ के छ भने भ्रष्टाचारको मुहान नै सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ।’ 

करोडौँ खर्च गरेर सांसद हुने र जितेपछि तँछाडमछाड गरेर मन्त्री बन्ने अवस्थाको अन्त्य गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रिमण्डल बनाउने र सांसदहरू कानुन निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्रै मुलुकमा भ्रष्टाचार रोक्न सकिने उनको भनाइ थियो।

आफूहरूको मुख्य मुद्दा भ्रष्टाचार नियन्त्रण नै भएको उल्लेख गर्दै उनले सरकारबाट त्यही पहल गर्दा सरकार छाड्नुपरेको बताए। आफूहरू खबरदारी गर्दै सरकारबाट निस्केको र सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध एकपछि अर्को अर्को अभियान चलाएकाले नै अहिले देशब्यापी जनताले माओवादी केन्द्रलाई भरोसा गर्न थालेको पनि उनले स्पष्ट गरे।

सामान्यतः सरकारबाट बाहिर आउँदा जनतामा निराशा देखिने गरे पनि यसपटक भने जनतामा उत्साह देखिएको र देशब्यापी जनलहर सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘भ्रष्टाचारीलाई जोगाउनका लागि नै हाम्रो नेतृत्वको सरकार ढालिएको हो भन्ने जनताले स्पष्ट बुझिसकेका छन्। उनीहरूको सरकार कसले कसरी बनाइदियो भन्नेदेखि नै हाल्यो, अहिले आधा दर्जन बढी त भ्रष्टाचारकै मुद्दा चलेका व्यक्तिलाई मन्त्री बनाइएको छ।’

सरकारबाट बाहिर निस्किएपछि माओवादीलाई जनताको बीचमा जान र संगठनलाई पुनः बलियो बनाउन अवसर आएको भन्दै उनले जनताको बीचमा पुग्दा जनताले अपार माया दिइरहेको जिकिर गरे।

‘माओवादीका लागि फेरि अवसर आएको छ । मैले फेरि नयाँ आन्दोलनको संकल्प गरि नै सकेँ। अहिले देशभरि जनताले हामीलाई मायाँ गरेको भ्रष्टाचारविरुद्ध अभियानको अगुवाई गरेकाले हो,’ उनले भने, ‘मैले विद्रोहको झण्डा उठाइ नै सकेँ। यो आन्दोलन मजदुर, किसान, युवा, महिला, आदिवासी जनजाति, दलित, मधेशीलगायत सबै जनसमुदायको साथ सहयोगमा अघि बढ्ने छ।’

आफूले देशब्यापी यात्रासँगै हरेक ठाउँमा ‘मर्निङ वाक’ अभियान चलाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो मर्निङ वाक मात्र नभई हामी आयौँ भनेर जनतालाई गरेको अपिल पनि भएको बताए। पार्टी एउटा संकल्पका साथ वर्गतिर फर्कंदै गरेको जानकारी दिंदै उनले भने, ‘युद्ध र शान्तिका अनुभवबाट खारिएका हजारौँ कार्यकर्ताको जमात भएको, लाखौँ श्रमिक वर्ग संगठित भएको पार्टी हाम्रै हो। हामीले आफूलाई रुपान्तरण गरेर जाने हो भने हामी क्रान्तिका अभिभार पूरा गर्न सक्ने हैसियतमा पुग्दैछौँ। हामी केन्द्रीय समितिको गुणात्मक बैठकको तयारीमा छौँ, यसबाट कार्यक्रमिक रूपमा अगाडि आउने छौं।’ 

उनले मजदुरको तर्फबाट पार्टी नेतृत्वमा १० प्रतिशत प्रतिनिधित्व, श्रमिकको न्यूनतम ज्याला बृद्धि, श्रम ऐन संशोधन, सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने, महंगी भत्तालगायतका मजदुर संगठनका माग जाजय भएको र पार्टीबाट पूरा गर्न सकिने जति पार्टीबाट र सरकारबाट गर्नुपर्ने कामका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको अन्तर्य समाजवादी क्रान्तिको तयारी नै भएको उल्लेख गर्दै उनले समाजवादी क्रान्तिले मात्रै मजदुर, किसानलगायत श्रमिक वर्गको हितको रक्षा गर्ने बताए।