१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार o७:४o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय महिला लिगमा एकै दिन १८ गोल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार o७:४o:oo

राष्ट्रिय महिला लिगअन्तर्गत शुक्रबार दुई खेलमा १८ गोल भएका छन् । विभागीय टोलीहरू त्रिभुवन आर्मी र एपिएफ क्लबले मोफसलका क्लबविरुद्ध गोलको वर्षा गरेका छन् । आर्मीले चन्द्रपुर नगरपालिकालाई १०–० को एकपक्षीय अन्तरमा हरायो । एपिएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो । यी दुवै खेलमा तीन खेलाडीले ह्याट्रिक पनि गरेका छन् । एपिएफकी रश्मिकुमारी घिसिङले एक्लै पाँच गोल गरेकी छिन् । आर्मीका चन्द्रा भण्डारी र अमिशा कार्कीले समान तीन गोल गरे ।

आर्मीकै गोलरक्षक अञ्जना रानामगरले आफ्नो पूर्वक्लब चन्द्रपुर नगरपालिकाविरुद्ध पेनाल्टीमा गोल गरिन् । राष्ट्रिय टोलीका सबै खेलाडी विभागीय टोलीबाट लिग खेलिरहेका छन् । लिगमा मोफसलबाट सहभागी क्लबविरुद्ध बलिया विभागीय टोली हाबी भएका हुन् । आर्मीले सुदूरपश्चिमविरुद्ध चालू लिगकै सबैभन्दा ठूलो १४–१ को जित निकालेको थियो ।

‘राष्ट्रिय टोलीका सबै खेलाडी विभागीय टोलीमा छन् । उमेरसमूहका पनि यसपटक धेरै विभागमै अनुबन्ध भए । त्यसैले पनि धेरै गोल भएका हुन्,’ महिला फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्काले नयाँ पत्रिकासँग भने, ‘तुलनात्मक रूपमा मोफसलका क्लब कमजोर देखिएका छन् ।’  

रश्मिको पाँच गोल
कोशीविरुद्ध एपिएफकी राष्ट्रिय टोलीकी सदस्य रश्मि एक्लैले पाँच गोल गरेकी थिइन् । कोशीविरुद्धको खेलसँगै उनले लिगमा व्यक्तिगत नौ गोल संख्या पुर्‍याइन् । उनले वालिङबाट युगान्डाकी ज्याकलिन नासालीलाई सर्वाधिक गोल संख्यामा पछि पारेकी छिन् । बुधबारसम्म नासाली सर्वाधिक गोलकर्ता सूचीको शीर्ष स्थानमा थियो । रश्मिले नासालीविरुद्ध दुई गोलको अग्रता लिइन् । लिगको एकै खेलमा पाँच गोल गर्ने रश्मि दोस्रो खेलाडी हुन् । आर्मीकी दिपा शाहीले सुदूरपश्चिम प्रदेशविरुद्ध पाँच गोल गरेकी थिइन् । 

कोशीविरुद्ध अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल गरेका थिए । जितसँगै सात खेलमा १९ अंक जोडेको एपिएफ शीर्ष स्थानमा छ । एपिएफले शीर्ष पाँच पक्का गरिसकेको छ । पराजित कोशी समान खेलबाट १० अंकका साथ पाँचौँ स्थानमा छ । 

चन्द्रा र अमिशाको ह्याट्रिक
आर्मीको जितमा चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरेका छन् । लिगमा दुवै खेलाडीको यो पहिलो ह्याट्रिक हो । आर्मीका हिमा चौधरी, दीपा शाही, गोलकिपर अन्जना रानामगर र शर्मिला थापामगरले समान एक गोल गरेका छन् । जितपछि सात खेलमा १६ अंक जोडेको आर्मी दोस्रो स्थानमा यथावत् छ । चन्द्रपुर समान खेलबाट सात अंकका साथ सातौँ स्थानमा रह्यो । यो जितले आर्मीको शीर्ष पाँचको सम्भावना बलियो बन्यो । चन्द्रपुरको कमजोर बनेको छ । आर्मीले चन्द्रपुरविरुद्ध दुवै हाफमा समान पाँच गोल गरेको थियो ।