१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार o७:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चितवनको सहारा सहकारीको अनुसन्धान अन्तिम चरणमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार o७:२४:oo

गितेन्द्रबाबु (जिबी) राई समूहले सञ्चालन गरेको चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको हिनामिनाको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ । सो सहकारीका सञ्चालकविरुद्ध आगामी साता मुद्दा अदालतमा लैजाने प्रहरी र सरकारी वकिलको तयारी छ । 

हदम्याद सकिन लागेको र अनुसन्धान पनि अन्तिम चरणमा पुगेको चितवनका एसपी भावेष रिमालले बताए । ‘केही दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाउँछौँ,’ उनले भने । गत वर्ष ९ असोजमा सो सहकारी ठगीसम्बन्धी जाहेरी दर्ता भएको थियो । ठगी मुद्दामा जाहेरी दर्ता भएको एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने हदम्याद हुन्छ । आगामी ९ असोजभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ । 

सो सहकारीबाट पनि अवैध रूपमा गोर्खा मिडियामा पैसा गएको देखिएको छ । त्यतिवेला गोर्खा मिडियाको सञ्चालनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रबन्ध निर्देशक थिए । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रबन्ध निर्देशकका रूपमा सहकारीबाट आएको पैसा खर्च गर्न लामिछाने पनि जिम्मेवार रहेको उल्लेख गरेको छ । तर, सहकारीबाट पैसा लैजाने प्रक्रियामा संलग्न नरहेकाले उनको हकमा के गर्ने भन्नेमा प्रहरी अन्योलमा छ । 

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार सो सहकारीमा ५० करोड ४६ लाख रुपैयाँ निक्षेप रहेको छ । सहकारीबाट जिबी राईका पाँच कम्पनीमा मात्र करिब ४१ करोड लगानी भएको छ । गोर्खा मिडिया नेटवर्कमा १० करोड २१ लाख, नेचर हर्ब्स इन्टरनेसनलमा नौ करोड २४ लाख, जिबी ग्रुप अफ कम्पनीमा आठ करोड ८० लाख, स्प्रिङ वुड रियल स्टेट एन्ड हाउजिङमा ६ करोड ३५ लाख रुपैयाँ लगानी भएको छ । ‘सहकारी ठगीमा प्रत्यक्ष संलग्न नभएको भनेर संसदीय समितिले नै प्रतिवेदन दिइसकेको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘यसअघि यस्तो अवस्थामा सहकारी ठगी नै मुद्दा दायर भएको अवस्था देखिएन, अरू मुद्दा के आकर्षित हुन सक्छन् भन्नेमा छलफलमै छौँ ।’ 

स्रोतका अनुसार प्रहरीले यस विषयमा गृहमन्त्रीकै समेत आदेश कुरिरहेको छ । गोर्खा मिडियामा पाँचवटा सहकारीबाट पैसा गएको र पाँच जिल्लामा अनुसन्धान भइरहेको छ । सबैतिर एउटै नजिर हुने गरी अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरी नेतृत्वले यस विषयमा गृह मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयसँग छलफल गरिरहेको छ । त्यसकारण ‘माथिबाट’ जे आदेश हुन्छ त्यहीअनुसार मुद्दा अघि बढ्ने प्रहरी अधिकारी बताउँछन् । सहारा सहकारीको ठगीमा सञ्चालकमध्ये कुमार रम्तेल जेलमै छन् । अरू सबै फरार रहेको चितवन प्रहरी स्रोत बताउँछ ।