१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ४ शुक्रबार २१:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिग : हाँडीखोलाको अपराजित यात्रा कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार २१:o५:oo

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा जित निकाल्दै मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लबले अपराजित यात्रा कायम राखेको छ ।

उत्कृष्ट पुनरागमन जित निकालेको हाँडीखोलाले लिग चरणमा आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । गौरीटार रंगशालामा शुक्रबार भएको ‘घ’ समूहको खेलमा हाँडीखोलाले पशुपति युवा क्लब हेटौँडालाई २–० गोल अन्तरले हरायो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको हाँडीखोलाले दोस्रो हाफको तेस्रो मिनेटमै गोल खाएको थियो । हाँडीखोलाविरुद्ध पशुपतिका अप्रिल रेग्मीले गोल गरेका थिए । तर, त्यसपछि आक्रामक खेल खेलेको हाँडीखोलाका लागि अमृत स्याङ्तान र उत्सव खड्काले एक-एक गोल गर्दै हाँडीखोलाको अपराजित यात्रालाई निरन्तरता दिए ।

लिग चरणमा पाँच खेल खेलेको हाँडीखोलाको तीन जित र दुई बराबरीसहित ११ अंक भएको छ । हाँडीखोलासँगको हारसँगै पशुपतिले भने सात अंकसहित लिगको अन्त्य गरेको छ । लिग चरणमा हाँडीखोलाले अझै एक खेल खेल्न बाँकी छ ।

 ‘घ’ समूहअन्तर्गत नै शुक्रबार भएको अर्को खेलमा युनाइटेड नाइनले चाइनाक्वार्टरलाई १–० ले हराएको छ । खेलको ८२औँ मिनेटमा आशिष घलानले गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो । पाँच खेल खेलेको युनाइटेडको एक जित र दुई बराबरीसहित पाँच अंक भएको छ भने पाँच खेल नै खेलेको चाइनाक्वार्टरले अहिलेसम्म अंक जोड्न सकेको छैन । 

समूह ‘घ’अन्तर्गतकै प्रगतिशील युवा क्लब हेटौँडा– १७ र प्रतिभा क्लबबिचको खेल भने अँध्यारोका कारण खेल्न सम्भव नभएपछि स्थगित भएको छ । करिब १४ मिनेट खेल बाँकी रहेको अवस्थामा अँध्यारो भएपछि खेल स्थगित गरिएको हो। 

खेलमा प्रतिभा १–० अगाडि रहेको छ । स्थगित खेल शनिबार बिहान हुने आयोजकले जानकारी दिएको छ ।