वासिंटन डिसीस्थित अमेरिकाको लागि नेपाली दूतावासले युएसएडको सहयोगमा नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ।
युएसएआइडी र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको दुई योजनाअन्तर्गत निर्मित तथा प्रसारित नेपालको पर्यटन प्रवर्द्धनका लागि निर्मित भिडियो प्रदर्शनका लागि सो कार्यक्रमको आयोजना गरिएको थियो।
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले स्वागत गर्दै नेपालको सामाजिक आर्थिक विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा युएसएआइडीको सराहना गरे।
साथै, पिबिएस भिडियोका निर्माता डेनिस होली र ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ कार्यक्रमका स्टेलरकावाजुल साजाकस र त्यसमा संलग्न सबैलाई धन्यवाद दिए। नेपाल मनमोहक प्रकृति, सांस्कृतिक विविधताको लागि उल्लेख गर्दै राजदूत खत्रीले नेपाल बाह्य लगानीका लागिसमेत खुला रहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले नेपालमा कृषि, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रको विकासमा युएसएआइडीको प्राथमिकता रहेको बताइन्। उनले नेपाल पर्यटन बोर्ड (एनटिबी)सँगको साझेदारीमा यस वर्षको जुनमा सुरु गरिएको पर्यटन अभियान सफल भएकोमा खुसी व्यक्त गरिन्।
उनले नेपालस्थित दूतावास, एनटिबी र अन्य सरकारी निकायहरूको साथ लिएर संयुक्त राज्य अमेरिकाभरका पिबिएस च्यानलहरूमा जुन महिनादेखि प्रसारण भइरहेका कार्यक्रमहरूको पाँच भागका भिडियोहरू निर्माण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरिन्। नेपालको विकासमा अमेरिकी सहयोग आगामी दिनमा पनि जारी रहने उनको कथन थियो।
सो अवसरमा गृह सुरक्षा मन्त्रालयका उपकार्यकारी सहायक निर्देशक प्याट्रिक म्याकएल्वेनले हराएका नेपाली कलाकृतिहरू पुनः प्राप्तिमा आफ्नो अनुभव र प्रतिबद्धताको बारेमा चर्चा गरे।
यस वर्षको मे ११ मा डिएसआईले बरामद गरी दूतावासलाई हस्तान्तरण गरेका ४० काठका कलाकृतिहरूमध्ये केहीका तस्बिरहरूसमेत प्रदर्शन गरिएको थियो।
पबिएस च्यानलका कार्यक्रम प्रस्तोता तथा ‘दिस इज अमेरिका एन्ड द वर्ल्ड’ का कार्यकारी निर्माता डेनिस होलीले नेपालमा गएर भिडियो निर्माण गर्दाको अनुभव सुनाए। पर्यटनविज्ञ जोन ई हेथरले नेपाली जनताको न्यानो आतिथ्यताको प्रशंसा गर्दै दिगो वातावरण पर्यटनको बारेमा बोलेका थिए।
स्टेलरका मार्केटिङ प्रबन्धक बाजुल स्जाकाक्सले सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफर्महरूमार्फत पर्यटन मार्केटिङको महत्वमा जोड दिए। कार्यक्रममा अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधिहरू, अमेरिकी सरकारका विभिन्न निकायका अधिकारीहरू, नेपालका लागि पूर्वअमेरिकी राजदूत, ट्राभल एन्ड एडभेन्चर टुर विज्ञहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।