मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Tuesday, 08 April, 2025
२o८१ चैत २४ आइतबार १९:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारकै कारण जनताका असन्तुष्टि यथावत् छ : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार १९:४२:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारकै कारण मुलुकमा व्याप्त असन्तुष्टि यथावत् रहेको टिप्पणी गरेका छन्। आइतबार दाङ तुलसीपुरमा नेपाल थारू संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्ताे बताएका हुन्।

‘नागरिक बेचैन छन्, तर प्रधानमन्त्री भन्नुहुन्छ– सब ठिकठाक छ, सब खुसी छन्। तर, त्यसो छैन,’ उनले भने, ‘सरकारमा बसेका मान्छेको आचरण, शासन गर्ने मान्छेले ढंग पुर्‍याउनुपर्छ, निर्णय सही गर्नुपर्छ। नत्र यस्ता असन्तुष्टि भइरहन्छन्।’

मुलुकमा रहेको व्याप्त भ्रष्टाचार, कुशासनसँग जोडिएर नै आमनागरिकमा असन्तुष्टि बढेको थापाको भनाइ छ। ‘म  भ्रष्टाचार हुन दिन्नँ भनेर बोलेर अर्थ छैन,’ उनले भने, ‘मेरो प्रधानमन्त्रीले गरेको निर्णयले कस्तो प्रभाव परिरहेको छ भन्ने कुरा मुख्य हो।’

सरकारकै कारण शिक्षकहरूले आन्दोलन गरिरहेकोसमेत उनले बताए। शिक्षा ऐनलाई उपसमिति बनाएर काम गर्नुपर्छ भनी आवाज उठेको चार महिनासम्म टुंगो नलाग्दा आन्दोलन भइरहेको उनको भनाइ छ। ‘चार महिना भयो उपसमितिमा लिएर काम गरौँ भनेको। यसमा हेलचेक्य्राइँ भयो, ढंग पुर्‍याइएन, यस्ता कुराले नागरिकमा असन्तुष्टि बढ्छ।’

प्रत्येक निर्णयबाट सरकारको परीक्षा हुने भन्दै थापाले अबको केही दिनमा हुने गभर्नर नियुक्तिमा पनि ध्यान दिनुपर्ने बताए। उनले कुनै पनि बिचौलियालाई खुसी बनाउन गभर्नर नियुक्ति गर्ने कार्य भए त्यस्तो कुराको प्रतिरक्षासमेत गर्न नसकिने प्रस्ट पारे। उनले भने, ‘सरकारले केही दिनमा गभर्नर नियुक्त गर्दै छ। यो कुनै बिचौलियालाई खुसी पार्नलाई नहोस्। सरकारले गरेका कामलाई हामीले पनि प्रतिरक्षा गर्न सकियोस्।’
 

छुटाउनुभयो की ?