Skip This
पर्साका ३८ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
तिवारी यादव वीरगन्ज
२o८१ माघ १८ शुक्रबार २o:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्साका ३८ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार २o:११:oo

पर्सामा आगामी माघ २२ देखि फागुन ६ गते पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने भएको छ । 

जिल्लाको १४ वटा पालिकामा रहेका ३४५ खोप केन्द्रबाट एचपिभी खोप सञ्चालन हुने स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । 

माघ २२ देखि फागुन ६ सम्ममा पहिलो चरणमा सातवटा पालिकामा र दोस्रो चरणमा पनि सातवटा पालिकामा दुई चरणमा खोप लगाइने ठाकुरले बताए । 

शुक्रबार जिल्ला खोप समन्वय समिति सञ्चारकर्मी तथा सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रममा उनले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई विद्यालयमा खोप लगाइने बताए ।  यस्तै, विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका छात्राहरूलाई वडास्तरमा तोकिएको स्थानमा खोप लगाइने उनले बताए । 
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहका अनुसार जिल्लाका ११२ वटा वडामा ३४५ स्वास्थ्यकर्मीसहित ६९० जनालाई परिचालन गरिने तयारी छ । 

जिल्लाभरकै एकवटा खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुईजना स्वयंसेवक खटाइने योजना रहेको साहले बताए । एचपिभी खोप कार्यक्रममा जिल्लामा ३८ हजार ६८६ जना छात्राहरूलाई खोप लगाइने लक्ष्य रहेको छ ।  
जसमध्ये विद्यालयभित्रका ३१ हजार १६० जना र विद्यालयबाहिरका १० वर्षदेखि १४ वर्ष समूहका सात हजार ५२६ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले बताए । साहले १४ पालिकामा खोप कार्यक्रम सञ्चालनका लागि तीन ठाउँमा खोपलाई कोल्ड चेन गरेर राखिएको बताए ।

माघ २२ देखि माघ २८ गतेसम्म सञ्चालन हुने पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्ममा, पर्सागढी र पोखरिया नगरपालिका, पटेर्वा, सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुर गाउँपालिकामा बालिका र किशोरीहरूलाई एचपिभी खोप लगाइने छ ।

यस्तै, माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने दोस्रो चरणको अभियानमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि वडा नम्बर ३२ सम्म बहुदरमाई नगरपालिका, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, बिन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकामा लक्षित उमेर समूहका बालिका र किशोरीहरूलाई एचपिभी खोप लगाइने साहले बताए । 

खोप अभियानका लागि जिल्लामा रहेका १४ वटै पालिकाका ११२ वटा वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा गरी ३४५ स्थानमा खोप केन्द्र स्थापना गरिनेछ । ती सबैमा गरी ६९० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियानका क्रममा कुनै पनि आग्रह–पूर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरूले लक्षित उमेर समुदायका बालिका र किशोरीहरूलाई खोप लगाउन आग्रह पनि गरे ।