क्रिकेट एक्सिलेन्स सेन्टर र न्यु भिजन क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । मूलपानी क्रिकेट मैदानमा शुक्रबार क्रिकेट एक्सिलेन्सले हिमालयन क्रिकेट एकेडेमी ‘बी’ र न्यु भिजनले नेक्सस क्रिकेट क्लबलाई पराजित गरे ।
दिनको पहिलो खेलमा क्रिकेट एक्सिलेन्सले हिमालयनविरुद्ध ७६ रनको फराकिलो जित निकाल्यो । क्रिकेट एक्सिलेन्सले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याएको हिमालयनले २० ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो ।
हिमालयनका लागि अभिषेक बुढाऐरले अविजित ७० रनको योगदान गरे । यसैगरी गणेश मल्लले १७ र केबिन धौलयालले ११ रन बनाए । क्रिकेट एक्सिलेन्सका लागि युगान्त कार्की र ऋत गौतमले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ रोजेको क्रिकेट एक्सिलेन्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो । क्रिकेट एक्सिलेन्सका लागि ऋत गौतमले ४१, विवेक तामाङले ३८ र पृथु बास्कोटाले २३ रन बनाए । हिमालयनका लागि आदित्य थापाले दुई तथा सुमन विश्वकर्मा र प्रतीक शाहले समान एक विकेट लिए ।
दिनको दोस्रो तथा अन्तिम खेलमा न्यु भिजनले नेक्ससविरुद्ध सात रनको रोमाञ्चक जित निकाल्यो । न्यु भिजनले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याएको नेक्ससले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १२१ रन मात्रै बनाउन सक्यो । नेक्ससका लागि अनिलकुमार यादवले २७, मोहम्मद दिलसद आलमले १७ र राजेश राउतले १५ रन बनाए । जभ्याङ लामा र शार्दुल भट्टले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको न्यु भिजनले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२८ रनको योगफल तयार पारेको थियो । न्यु भिजनका लागि सार्थक धितालले ३९, बोबिन बोहरा र शार्दुल भट्टले २१ रन बनाए ।