परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपाल भ्रमणमा रहेको भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरको टोलीबिच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री राणानिवासमा बिहीबार शिष्टाचार भेटवार्ता भएको हो ।
त्यसक्रममा मन्त्री राणाले भारतसँगको सम्बन्धलाई नेपालले उच्च महŒव दिएको र दुई देश एवं नागरिकको पारस्परिक हितका लागि भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताएकी छिन् । साथै, उनले सीमासम्बन्धी संयन्त्रको बैठक राख्नुपर्ने जोड दिएकी छिन् ।
महावरमार्फत परराष्ट्रमन्त्री राणाले दुई देशबिच सीमासम्बन्धी कार्यसमूह (बाउन्ड्री वर्किङ ग्रुप अर्थात् बिडब्लुजी) महŒवपूर्ण संयन्त्र रहेको र यसको बैठक बस्नुपर्ने सन्देश भारत सरकारलाई दिएकी छिन् । ‘दुई देशबिचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठे सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही वर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त समूहको बैठक बस्ने विषयमा छलफल भएको थियो,’ परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले भने । यस्तै, भारतसँग अतिरिक्त हवाई रुटका लागि नेपालले विगतदेखि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि अनुरोध गरिएको विषयमा पनि स्मरण गराएकी छिन् । यही महिना काठमाडौंमा बसेको द्विदेशीय व्यापारसम्बन्धी इन्टरगभर्मेन्टल कमिटी (आइजिसी) तथा नेपाल–भारत ऊर्जासम्बन्धी बैठक फलदायी भएको चर्चा गर्दै यस्ता द्विपक्षीय बैठकलाई निरन्तरता दिनुपर्ने परराष्ट्रमन्त्री राणा र अतिरिक्त सचिव महावरबिच छलफल भएको थियो । परराष्ट्रमन्त्री राणाले महाकाली करिडोर सडकमा आवश्यक उपकरण र सामग्री ढुवानीका लागि भारतीय भूमि प्रयोग गर्न दिन पनि अनुरोध गरेकी छिन् ।
भारतीय अतिरिक्त सचिव महावरले मंगलबार परराष्ट्रसचिव अमृतबहादुर राईसँग शिष्टाचार भेट गरेका थिए । उनी नेपाल–भारत परियोजना संयुक्त अनुगमन कमिटीको पाँचौँ बैठकमा सहभागी हुन तीन दिनअघि नेपाल आएका थिए । कमिटीको बैठक सोमबार भएको थियो । बैठकमा नेपाल पक्षको नेतृत्व सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनाली र भारतको नेतृत्व महावरले गरेका थिए । बैठकमा ०७२ को महाभूकम्पपछि भारतीय वित्त सहायतामा पुनर्निर्माण भएका परियोजनाका विषयमा छलफल भएको थियो ।