डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया तीव्र बनाएको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ । आप्रवासी निष्कासन अभियानअन्तर्गत एक हजार ३६५ नेपाली निष्कासनमा पर्ने भएका छन् ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार एक हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् । कार्यालयले विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको संख्या सार्वजनिक गरेको हो ।
अमेरिकाबाट निष्कासन हुनेमा सबैभन्दा धेरै होन्डुरसका दुई लाख ६१ हजार ६५१ जना, ग्वाटेमालाका दुई लाख ५३ हजार ४१३ जना, मेक्सिकोका दुई लाख ५२ हजार ४४ जना रहेका छन् । यस्तै, चीनका ३७ हजार ९०८ जना र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन् ।
अमेरिकाको आन्तरिक सुरक्षा विभागका अनुसार अमेरिकामा तीन लाख जनाभन्दा धेरै नेपाली मूलका बासिन्दा छन् । जसमध्ये दुई लाखजनाले ग्रिनकार्ड र झन्डै ८७ हजार जनाले नागरिकता प्राप्त गरेका छन् । २० हजारजना विद्यार्थी छन् भने २० हजारजनाले शरणार्थीका रूपमा आवेदन दिएका छन् । सात हजार पाँच सयजनाले अस्थायी आवासीय अनुमति पाएका छन् ।
अमेरिकाको अध्यागमन र भन्सार प्रवर्द्धन कार्यालयले एक हजार ३६५ भन्दा केही धेरै नेपाली अनधिकृत रहेको अनुमान गरेको छ । अमेरिकामा अहिले एक करोड २० लाख जना अवैध आप्रवासी रहेको प्यु रिसर्चले जनाएको छ । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका झन्डै ५० लाख जना छन् । दोस्रोमा एल साल्भाडोरका सात लाख ५० हजार र तेस्रोमा भारतका सात लाख २५ हजारजना अनधिकृत आप्रवासी छन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ । ट्रम्पले पदभार ग्रहण गरेयता कम्तीमा दुई हजार ६८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन् । ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा संकटकाल घोषणासमेत गरिसकेका छन् । संकटकाल घोषणासँगै अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरेको छ । एजेन्सी