Skip This
नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्छौँ : कार्यबाहक चिनियाँ राजदूत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार २१:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्छौँ : कार्यबाहक चिनियाँ राजदूत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार २१:३५:oo

नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले नेपाल र चीनबिच भएका सम्झौता कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेको पाँच वर्ष पुग्न लागेको अवसरमा ‘फ्रेन्ड्स अन द क्लाउड, प्लेटफर्म अफ इन्फ्ल्युन्सर्स नेपाल’ द्वारा आयोजित कार्यक्रममा उनले पर्यटन, कृषिलगायतका क्षेत्रमा चीनले नेपाललाई सहयोग विस्तार गर्ने पनि जानकारी दिए।

नेपाल र चीनबिच सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। ‘यो वर्ष चीन–नेपाल सम्बन्धको ६९ वर्ष हो। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण इतिहासकै कोशेढुंगा हो। त्यसपछि दुई देशको सम्बन्ध विकासको तीव्रगतिमा अघि बढेको छ। राष्ट्रपति नेपाल आउँदा भएका सहमति कार्यान्वयनमा छन्,’ कार्यबाहक राजदूत वाङले भने, ‘हामी हिमालय सीमापार सम्बन्ध अझै मजबुत बनाउन चाहन्छौँ। नेपालसँग आर्थिक सहकार्य थप विस्तार गर्न चाहन्छौँ।’

कार्यबाहक राजदूत वाङले कोभिड महामारीपछि दुई देशको सहकार्य सन्तोषजनक रूपमा अघि बढिरहेको बताए। विगतमा सम्झौता भएर कार्यान्वयन हुन बाँकी विषयहरू कार्यान्वयनमा पनि चीन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। 

‘हामीले विगतमा तातोपानी र केरुङ नाका खोल्यौँ। यसले चीन–नेपाल आर्थिक सहकार्य थप मजबुत भएको छ। यो वर्ष हामीले नेपाल र चीनका परम्परागत १४ नाका खोलेका छौँ। यसले नेपाली जनताको आर्थिक जीवनस्तर माथि उठ्नेछ,’ उनले भने।

राष्ट्रपति सीको भ्रमणभन्दापछि  नेपालका शीर्ष नेताहरूको चीन भ्रमणमा भएका सम्झौता कार्यान्वयनका लागि चीन सरकार प्रतिबद्ध भएको पनि उनले जानकारी दिए।

उनले बिआरआईअन्तर्गत नेपालसँग चार परियोजनामा काम गर्न लागेको जानकारी दिए। ‘पहिलो, काठमाडौं उपत्यकाको चक्रपथ विस्तारको दोस्रो फेज कार्यान्वयन गर्दै छौँ। दोस्रो, चीनको खासा जोड्ने अरनिको राजमार्ग स्तरोन्नति हुनेछ,’ उनले भने, ‘तेस्रो, मुस्ताङ र चीन जोड्ने कोरला नाकामा सुक्खा बन्दरगाह स्तरोन्नति हुनेछ। चौथो, पश्चिम नेपालको हुम्लास्थित सिमिकोटदेखि हिल्सासम्म सडक मर्मत हुनेछ। नेपाल चीन बिआरआईअन्तर्गत यी परियोजना हामी शीघ्र कार्यान्वयन गर्दै छौँ।’

चीनले नेपालमा औद्योगिक र कृषिपार्क बनाउन लागेको पनि उनले जानकारी दिए। झापामा औद्योगिक पार्क बन्ने क्रममा छ भने चीनले चितवनमा कृषि पार्क निर्माण गर्न लागेको छ। 

‘यसका लागि चिनिका कृषि विज्ञहरू पटक-पटक नेपाल भ्रमण गरेका छन्  र उनीहरूले नेपालको आवश्यकता सर्भे गरेका छन्। कृषिप्रधान देश नेपालमा कृषिको सम्भावना छ,’ उनले भने, ‘यसमा चीनले खुलेर सहयोग गर्छ। चितवन कृषि पार्क सुरुवात मात्रै हो। हामीले धेरै काम गर्नेछौँ।’ चीनले नेपालको गरिबी निवारण र  मेडिकलमा पनि सहयोग गर्ने उनको भनाइ थियो।

‘हरेक वर्ष चीनले चितवनको बिपी मेमोरियल क्यान्सर अस्पतालमा मेडिकल टिम पठाएको छ। अब चीनले काठमाडौंमा पनि चिनियाँ मेडिकल टिम पठाउनेछ। सिभिल अस्पतालमा पनि चिनियाँ डाक्टरले उपचार गर्नेछन्। अन्य अस्पतालमा पनि उनीहरूले उपचार गर्नेछन्,’ वाङले भने।

चीनले नेपालको पर्यटनमा पनि सहयोग उनको भनाइ थियो। ‘कोभिडपछि नेपाल आउने चिनियाँहरूको संख्या घट्यो । तर, अब बढ्ने क्रममा छ,’ उनले भने, ‘चीनको युनानबाट चिनियाहरू ठुलो संख्यामा नेपाल आएका छन्। नेपालीहरू पनि युनान गएर पर्यटन प्रवर्द्धन गर्नुपर्छ। त्यसपछि युनानबाट मात्रै नेपालमा १० लाख पर्यटक आउने सम्भावना हामीले देखेका छौँ।’