सुदूरपश्चिममा विपत् प्रतिकार्यको तयारी, सेना–हेलिकाेप्टरदेखि सुरक्षा टोली परिचालन

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमानपछि सुदूरपश्चिम प्रदेशमा सम्भावित बाढी, पहिरोलगायत विपतकाे प्रतिकार्यका लागि पूर्वतयारी तीव्र पारिएको छ। उच्च जोखिममा रहेका क्षेत्रमा तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएको छ भने आवश्यक परे उद्धारका लागि नेपाली सेनाको हेलिकाेप्टरसमेत तयारी अवस्थामा राखिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीको अध्यक्षतामा बसेको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले सम्भावित विपतलाई ध्यानमा राख्दै सबै सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा राख्ने निर्णय गरेको हो। प्रदेशस्थित सबै सुरक्षा निकायका अधिकारी सदस्य रहेको समितिले विपत् प्रतिकार्यका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन तयारी अवस्थामा राखेको जनाएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धर्मराज जोशीका अनुसार बाढीपहिरोको उच्च जोखिममा रहेका क्षेत्रमा तीनवटै सुरक्षा निकायका टोली तयारी अवस्थामा राखिएका छन्। आवश्यक परे त्यस्ता स्थानमा अस्थायी सुरक्षा बेससमेत राखिनेछ। शुक्रबारदेखि तीन दिनसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न र प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।

सम्भावित विपतलाई मध्यनजर गर्दै नेपाली सेनाको सुदूरपश्चिम पृतना, कैलालीमा ‘जोइन्ट अपरेसन टिम’ परिचालन गरिएको छ। टोलीमा प्रदेश सरकार तथा सबै सुरक्षा निकायका प्रतिनिधि छन्। टोलीले सूचना सम्प्रेषण, खोज तथा उद्धारलगायतका काममा समन्वय गर्ने जनाइएको छ।

विपत् आएमा आवश्यकताअनुसार परिचालन गर्न नेपाली सेनाको हेलिकाेप्टरसमेत तयारी अवस्थामा राखिएको सचिव जोशीले जानकारी दिए। प्रदेश सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई पनि विपत् प्रतिकार्यका लागि पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको छ। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रलाई समेत विपद्सम्बन्धी सूचना संकलन तथा सम्प्रेषणका लागि तयारी अवस्थामा राखिएको छ। सुरक्षा निकायले आफ्ना मातहतका कर्मचारीलाई यो अवधिमा बिदामा नबस्न निर्देशन दिएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डुबानको उच्च जोखिममा रहेका क्षेत्रमा डुंगालगायत आवश्यक सामग्रीसहित सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताए। टीकापुर क्षेत्रमा कर्णाली नदीको कटान बढेको स्थानमा सुरक्षाकर्मी र स्थानीयको सहभागितामा अस्थायी तटबन्धसमेत निर्माण गरिएको उनले जानकारी दिए।

नौ जिल्लामा उच्च जोखिमको चेतावनी

जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका प्रमुख संयोजकुमार शाहका अनुसार ९ देखि ११ असोजसम्म अतिभारी वर्षाको सम्भावना रहेकाले सुदूरपश्चिमका नौवटै जिल्ला विपतकाे जोखिममा छन्। बुधबार रातिदेखि नै मौसममा बदली देखिएको उनले बताए।

बाजुरा, बझाङ र दार्चुलाका हिमाली क्षेत्रमा भारी हिमपात तथा अन्य जिल्लामा भारी वर्षाको पूर्वानुमान रहेको शाहले जानकारी दिए। 

‘हिमाली क्षेत्रमा भारी हिमपात तथा भारी वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढीपहिरोको उच्च जोखिम छ,’ उनले भने, ‘अत्यावश्यकबाहेक तीन दिन यात्रा नगर्न तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेषगरी रातिको समयमा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।’

भारी वर्षाका कारण चुरे क्षेत्र हुँदै आएका नदीमा पानीको सतह बढेर कैलाली र कञ्चनपुरका तटीय क्षेत्रमा डुबानको जोखिम रहेको अधिकारीहरूले बताएका छन्। पहाडी जिल्लामा पहिरोको जोखिमसमेत बढेको छ।

विद्यालयमा बिदा, जोखिमयुक्त क्षेत्रमा माइकिङ

कैलालीका विभिन्न पालिकाले डुबानको सम्भावनालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्नुका साथै सर्वसाधारणलाई सतर्क गराउन माइकिङ गरिरहेका छन्। धनगढी उपमहानगरपालिका, टीकापुर र भजनी नगरपालिका, जानकी गाउँपालिकालगायत स्थानीय तहले डुबानको जोखिममा रहेका बस्तीमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

टीकापुर नगरपालिका, गौरीगंगा नगरपालिकालगायत केही स्थानीय तहले भारी वर्षाका कारण बाढी, डुबानलगायत विपतकाे जोखिम बढेको भन्दै शुक्रबार विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। स्थानीय तहले सूचना जारी गरी एक दिन विद्यालय बन्द रहने जनाएका छन्।

अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको टीकापुरका प्रमुख प्रशासकीय अधिकृत ममता बाँस्तोलाले बताइन्।

सुझावित समाचार