नेपाल टेलिकमले गत आर्थिक वर्ष ०८२/८३ मा आठ अर्ब ८६ करोड ४६ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ४७.५८ प्रतिशतले बढी हो । समीक्षा अवधिमा कम्पनीले गत आवको भन्दा दुई अर्ब ८५ करोड ७९ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।
त्यसैगरी, कम्पनीको कुल आय सामान्य वृद्धि भएको छ । अघिल्लो आवमा ३८ अर्ब १८ करोड ८१ लाख रहेको यस्तो आय समीक्षा अवधिमा २.६५ प्रतिशतले बढेर ३९ अर्ब १९ करोड ९६ लाख कायम भएको कम्पनीले जनाएको छ । साथै, कुल सञ्चालन आय समीक्षा अवधिमा ३४ अर्ब ९५ करोड चार लाख पुगेको छ । अघिल्लो आवको चौथो त्रैमासिकसम्म यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख थियो ।
यद्यपि, कम्पनीको ब्याज आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीले ८६ करोड १९ लाख ब्याजबापत कमाएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २२.८८ प्रतिशतले कम हो ।
त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड एक लाख पुगेको छ भने अघिल्लो आवको सोही अवधिमा १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ आम्दानी भएको थियो ।
त्यसैगरी, करअघिको नाफा ३४.६६ प्रतिशतले बढेर १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा नौ अर्ब ८५ करोड दुई लाख थियो ।