कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँको बजेट ल्याएको छ। नगर सभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले उपमहानगरको बजेट सार्वजनिक गरिन्।
उपमहानगरले कुल बजेटमध्ये चालूतर्फ एक अर्ब ४३ करोड ६३ लाख र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरेको छ। उपमहानगरले बजेटका स्रोतका रूपमा आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ६ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने आकलन गरेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख तथा चालू आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। चालू आर्थिक वर्षको दुई अर्ब ५६ करोड चार लाख बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार रुपैयाँ प्राप्त भएकोमा एक अर्ब १९ करोड ९४ लाख रुपैयाँ खर्च भएको उपप्रमुख रानाले जानकारी दिइन्।
उपमहानगरले आगामी वर्षको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ। उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने उल्लेख छ। विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा समावेशन आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिने भएको छ।
त्यस्तै, सिप सिकाएर युवाहरूलाई स्वरोजगार बनाउन सिप तथा रोजगार मेला सञ्चालनलाई उपमहानगरले आगामी वर्ष निरन्तरता दिने भएको छ। उपमहानगरले बेरोजगार शैक्षिक जनशक्तिलाई न्यूनतम रोजगारीका अवसर सिर्जना गर्न सन्ध्याकालीन बजार सञ्चालन गर्ने भएको छ। उपमहानगरले उज्यालो धनगढी अभियानअन्तर्गत सडक बत्तीको विस्तार, स्वच्छ र सफा धनगढी, हरियाली प्रवर्द्धन कार्यक्रम, हाम्रो सुदूरपश्चिम हामी चिनाउँछाैँ अभियानलाई निरन्तरता दिइने उपप्रमुख रानाले बताइन्।