विश्वकप प्रवासी खेलाडीका लागि ठुलो मञ्च

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

फिफा विश्वकप २०२६ मैदानमा हुने हरेक क्षण र प्रदर्शनसँगै खेलाडीको नागरिकता र माइग्रेसनको पनि चर्चा सुरु भएको छ । पहिलोपटक ४८ टिम सहभागी हुँदा १२ सय ४८ खेलाडी सहभागी भएका छन् । विश्वकपमा हरेक देशले २६ खेलाडी टिममा समावेश गर्न पाउँछन् । सहभागीमध्ये दुई सय ९२ खेलाडी आफ्नो जन्म भएको देशबाट खेलिरहेका छैनन् । यी खेलाडी दोस्रो देशमा गएर खेलिरहेका छन् । त्यसमध्ये केही खेलाडीका दाजुभाइ नै फरक देशबाट खेलिरहेका छन् । केही खेलाडीका बुबा र छोरा नै फरक देशबाट खेलिरहेका छन् । विश्वकपमा ४८ मध्ये आठ देशले मात्रै आफ्नै खेलाडी टिममा समावेश गरेका छन् । मतलव उनीहरू कुनै पनि देशबाट बसाइँसराइ गरेर आएका होइनन् । माइग्रेसन र औपनिवेशिक सम्बन्धका कारण खेलाडीले फरक देशबाट विश्वकप खेल्दै आएका छन् । 

फ्रान्स सबैभन्दा अगाडि
यो तथ्यांकमा फ्रान्स सबैभन्दा अगाडि रहेको छ । यस विश्वकपमा फ्रान्समा जन्मिएका ९८ खेलाडी खेलिरहेका छन् । त्यसमध्ये ७६ खेलाडी विभिन्न देशको जर्सीमा देखिएका छन् । दोस्रो नम्बरमा नेदरल्यान्ड्स रहेको छ । तर, फुटबलमा यो स्थिति पछिल्लो घटनाक्रम भने होइन । सन् १९३० नै यस्तो घटना भएको देखिन्छ । तत्कालीन अमेरिकी टिमबाटै इंग्ल्यान्ड र स्कटल्यान्डका खेलाडीले खेलेका थिए । यही कारण पनि फिफाले केही समय दोहोरो नागरिकताको नियम परिवर्तन गर्यो । सुरुमा युथ टिममा खेलेपछि त्यही देशबाट खेल्नुपर्ने नियम बन्यो ।

अहिले भने फिफाले कुनै देशबाट २१ वर्षअघि धेरैमा तीन खेलसम्म खेलेको, बिचमा तीन साल कुनै देशबाट खेल्न नपाउने र त्यसपछि मात्रै राष्ट्रिय टिम परिवर्तन गर्न पाउने नियम बनाएको छ । यसबाहेक फिफाले आफ्नो जन्म, मातापिता या हजुरबुबा र हजुरआमाको जन्मस्थान या सम्बन्धित देशमा लगातार पाँच वर्षसम्म बसेको भए कुनै पनि देशबाट खेल्न पाउने मापदण्ड बनाएको छ । 

फ्रान्सका जमल मुसियाला, अमेरिकाका फ्लोरिन बालोगन र इंग्ल्यान्डका डेक्लान राइस त्यसका चर्चित उदाहरण हुन् । यसअघि डिएगो कोस्टाले पनि ब्राजिलबाट मैत्रीपूर्ण खेल खेलेर पछि स्पेनको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् २००४ मा ब्राजिलका स्ट्राइकर एल्टन कुनै परिवारमा नखुल्दा पैसा नै दिएर कतारको नागरिकता लिन सफल भएको बताइन्छ । 

खेलाडी खोज्ने आधुनिक तरिका 
यही कारण केही राष्ट्रहरू खेलाडी उत्पादन यस्तै किसिमको गर्दै छन् । उनीहरू त्यसका लागि आधुनिक र अप्रत्याशित तरिका अपनाउँदै छन् । फुटबल एजेन्टबाहेक खेलाडी खोज्न लिंक्डइन, वाट्सएप, फुटबल म्यानेजरजस्ता भिडियो गेम्सको डेटाबेसको सहारा लिइरहेका छन् । क्यानडाका ल्युक डी फौगरोल्सका पिताले प्रशिक्षकलाई लिंक्डइनमा म्यासेन्ज तथा अल्फी जन्सको खोज नै सौना बाथमा भएको कुराकानीबाट भएको थियो । फुटबल म्यानेजरबाट चिलीका बेन ब्रेरेटन डियाजको खोजी भएको थियो । कति फेडेरेसन भने सिधै परिवारबाट खेलाडीसँग कुराकानी गर्छन् । पोल्यान्ड फुटबल एसोसिएसनका अध्यक्षले न्युयोर्क गएर युवा खेलाडी जुलियन हलको आमासँग भेटेर सिधै पोल्यान्डको जर्सीमा मैदान उतारेका थिए । अहिले यो कार्य विश्व फुटबलमा निकै फस्टाएको छ । 

अल्जेरियाको टिममा आधा खेलाडी विदेशी मूलका 
प्रवासी खेलाडी सबैभन्दा धेरै विश्वकपमा खेलाउने टिम बनेको छ अल्जेरिया । उसले विश्वकपमा २६ मध्ये १३ खेलाडी प्रवासी खेलाएको छ । हाइटीमा १२ खेलाडी रहेका छन् । पहिलोपटक विश्वकप खेलिरहेको कुराकाओमा एक खेलाडीलाई छाड्ने हो भने सबै आफ्नै देशका रहेका छन् । सबैभन्दा धेरै कतारको टिममा ११ खेलाडी विभिन्न देशका रहेका छन् । मोरोक्कोले पहिलो खेलमा ब्राजिलविरुद्ध खेलाएको प्लेइङ सेटका ११ खेलाडी नै विदेशी भूमिमा जन्मिएका थिए । 
 

सुझावित समाचार