मदन भण्डारी लोकमार्गको उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा खण्डमा आज (शनिबार) बिहान विद्यालयका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहान महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा२ख ६४३८ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनामा परेको हो । बसमा दीप एजुकेशन बोर्डिङ स्कुलका कर्मचारी सवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकरी डिएसपी गणेबबहादुर बमले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते भएका बर्दिबास नगरपालिका निवासी अन्दाजी ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
दुर्घटनामा महोत्तरी गौशाला नगरपालिका–२ की ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको टाउको तथा छातीमा चोट लागेकाले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ ।
अन्य घाइतेमध्ये जितन प्रसाद यादव, नितु यादव, रुपा महतो, दिनेश साह र आलोक साहसहित केहीको अवस्था मध्यम रहेको छ भने बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला अस्पताल उदयपुरले जनाएको बमले जानकारी दिए । उनले भने, ‘घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।’
दुर्घटनालगत्तै अस्थायी प्रहरी पोस्ट संगमचोकबाट प्रहरी नायब निरीक्षक तिलक पौडेलको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो ।
बस चालक महोत्तरी गौशाला नगरपालिका–१० का २८ वर्षीय जीवन आले सकुशल रहेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।