जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्न गृह मन्त्रालयको सिफारिस

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौको जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्न सिफारिस भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबारको मन्त्रिपरिषद्बाट सहिद घोषणाको तयारी छ। 

गृह मन्त्रालयले छानबिन गरी ४५ जनालाई सहिद घोषणा गर्न सिफारिस गरेको हो। सो आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। तर, कतिपयको शव अझै सनाखत हुन सकेको छैन। जलेको अवस्थामा भेटिएका शवको सनाखत हुन नसकेको हो। 

जेलबाट भाग्न खोज्ने क्रममा गोली लागेर १० कैदीको मृत्यु भएको थियो। उनीहरूको नाम सहिदको सूचीमा छैन। आन्दोलनमै ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ। आन्दोलनमा तीन प्रहरीले पनि ज्यान गुमाएका थिए। आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ। 

२३ भदौमा भ्रष्टाचारविरुद्ध बानेश्वरमा भएको आन्दोलनमा गोली लागेर २३ जनाले ज्यान गुमाएका थिए। त्यसको विरोधमा देशभरि भोलिपल्ट नागरिकहरू सडकमा उत्रिएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्त भएको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी चुनावको घोषणा गरिएको छ। सरकारले आन्दोलनमा ज्यान गुमाएकाको सम्झौतामा जेन–जी स्मारक पार्क बनाउने घोषणा गरिसकेको छ। यद्यपि, कुन ठाउँमा बनाउने भन्ने अझै तय भइसकेको छैन। 
 

सुझावित समाचार