४ सेप्टेम्बर २०२५ को बिहान । क्यानडाको टोरन्टोे सहरको आकाश खुलेको थियो । तर, चिसो र मन्द सिरेटोले हल्का जाडो महसुस हुन्थ्यो । मौसमले जेजस्तो स्वरूप धारण गरे पनि पचासौँ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी हुन पुगेका सिनेप्रेमीहरू कार्यक्रमस्थलतर्फ गइरहेका थिए । सडक फिल्मका डिजिटल पोस्टरहरूले सजिएका थिए । अग्ला भवनमा ‘५० टिफ’(टोरन्टोे इन्टरनेसनल फिल्म फेस्टिभल) लेखिएका डिजिटल बोर्ड चम्किरहेका थिए । विश्वप्रसिद्ध निर्देशक र कलाकारहरूको तस्बिरसहित फिल्मका पोस्टरहरू सडकमा ठडिएका थिए । सडकमा सवारी आवागमन बन्द गरिएको थियो । फेस्टिभलका स्वयंसेवक आगन्तुकलाई स्वागत गरिरहेका थिए । पैदलयात्रु तथा चलचित्रप्रेमीहरूको भिडले टोरन्टोे सहर साँच्चै चलचित्रमय बनेको थियो । यस्तो लाग्थ्यो, सहर कुनै ठुलो उत्सव मनाइरहेको छ । फेस्टिभलको आयोजनास्थल ‘बिल लाइट बक्स’नजिकै पुग्दा मानिसहरू लामबद्ध देखिन्थे ।
क्यानडामा प्रत्येक सेप्टेम्बर ३ मा श्रमिक दिवस मनाइने रहेछ । त्यसपछि १० दिन शहर सिनेमा र संगीतमय बन्दो रहेछ । संसारभरिका ‘सेलिब्रिटी’ र फिल्मकर्मीहरू जम्मा हुने भएकाले कार्यक्रम आयोजनास्थलमा सवारी आवागमन बन्द गरिएको थियो । सडकको एक साइड ‘सेलिब्रिटी’ र ‘फिल्ममेकर’ हरूका लागि छुट्याइएको थियो ।
फेस्टिभलमा सहभागी हुन नेपाली पत्रकारका रूपमा सेप्टेम्बर ४ मा त्यहाँ पुगेँ । नेपाली चलचित्रकर्मी विधान कार्की र मनीषा पोखरेल पनि सँगै थिए । विधान टिफमा स्वयंसेवकका रूपमा खटिएका थिए । उनले फेस्टिभलका हरेक कार्यक्रम र गतिविधिबारे परिचय गराए । उनको सहयोगले फेस्टिभललाई अझ नजिकबाट अनुभूत गर्ने अवसर पाएँ ।
महोत्सवमा मिडिया पर्सनहरूका लागि बेग्लै स्थान तोकिएको थियो । मिडियालाई समाचार लेख्नका लागि कम्प्युटरसमेत व्यवस्था गरिएको रहेछ । केही अन्तर्राष्ट्रिय पत्रकारसँग परिचय भयो । कोही युरोपबाट, कोही एसियाबाट थिए ।
‘टिफ’ले ५०औँ वर्षगाँठ मनाउँदै थियो, जहाँ ‘द टिफ स्टोरी इन ५० फिल्म्स’ अर्थात् विश्वका ५० ऐतिहासिक पुराना फिल्मका पोस्टर देखिन्थे । जहाँ बलिउडको ‘सोले’ जस्ता फिल्म पनि देखाइँदै थियो । ‘टिफ’को मुख्य हल ‘बिल लाइट बक्स’अगाडि महोत्सवको औपचारिक कार्यक्रमको तयारी थियो । त्यहाँ सञ्चारकर्मीहरूको बाक्लो भिड थियो । दर्जनौँ क्यामेराहरू तयार थिए । सडकमै ‘ओपनिङ डे वाल्क’ प्रस्तुती दिइयो । टोरन्टोको मुटु मानिने ‘किङ स्ट्रिड वेस्ट’ भव्य उत्सवस्थलको रूपमा परिणत भयो ।
महोत्सवकी कार्यक्रम निर्देशक रोबिन सिटिजले ५० वर्षसम्म यो महोत्सवले फिल्म उद्योग र विश्वसिनेमा समुदायबिच सेतुको भूमिका खेलेको बताइन् । उनले महोत्सवको ५० वर्षेे यात्राप्रति गर्व गर्दै भनिन्,‘फिल्म उद्योग र विश्व समुदायबिच सेतुको काम गर्नु हाम्रो महŒवपूर्ण उद्देश्य हो । कथा र चलचित्रमार्फत हामी संसार बुझ्ने प्रयास गर्छाै“ । टोरन्टोेजस्ता मञ्च कलाकार दर्शकबिचको सहानूभूति निर्माण गर्ने माध्यम हुन् ।’
साँझ पर्दै जाँदा रेड कार्पेटको तयारी सुरु भयो । फेस्टिभलको आयोजनापरिसर रातो कार्पेटले सिँगारिएको थियो । रोय थोम्सन हलमा रेड कार्पेट बिछ्याउँदै थियो, जहाँ विश्व चर्चित निर्देशक, निर्माता तथा कलाकारलाई उतारिँदै थिए । उद्घाटनमा क्यानेडेली हास्य अभिनेता जोन क्यान्डीको जीवनीमा आधारित वृत्तचित्र ‘जोन क्यान्डी : आई लाइक मी’ प्रदर्शनको तयारी थियो । निर्माता रायन रेनोल्ड्स, निर्देशक कोलिन ह्यान्क्स, जोन क्यान्डीका छोरा क्रिस क्यान्डी, छोरी जेनिफर क्यान्डी सुलिभानलगायतलाई रेड कार्पेटमा उतार्ने भव्य तयारी गरिएको थियो ।
साँझ पर्दै गएपछि सडक नै ढाक्ने गरी मान्छेको भिड बढ्दै गयो । रेड कार्पेट बिछ्याएर बनाइएको विशाल मञ्चमा उज्याला बत्ती बल्न थाले । क्यामेरा फोटो–भिडियो खिच्न व्यस्त थिए ।
रोय थमसन हलमा फेस्टिभलको भव्य उदघाटन भयो । उद्घाटन समारोहमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने,‘यो महोत्सव एउटा अद्वितीय सफलताको कथा हो, यसले पनि क्यानाडालाई विशेष बनाएको छ । यहाँ क्यानाडा र विश्व एउटै बनेको छ ।’
क्यानेडेली चर्चित हास्य अभिनेता जोन क्यान्डी माथि बनेको भावनात्मक वृत्तचित्र देखाइयो । यो वृत्तचित्र सन् १९९४ मा निधन भएका दिवंगत हाँस्य अभिनेताको जीवनबारे बनाएको एक मार्मिक दस्तावेज हो । वृत्तचित्रले ‘स्ट्यान्डिङ ओभेसन’ पायो ।
सयौँ मानिसहरू सेलिब्रेटीको पर्खाइमा बसिरहेका थिए । पर्यटकहरू सेलिब्रेटीसँग सेल्फी खिच्न लोभिएका थिए । पूरै सडकमा सेलिब्रेटी हेर्नेको भिड थियो । सडकको कुनै कुनाबाट मन्त्रमुग्ध गराउँने संगीत बजिरहेको थियो । सहरमा विभिन्न रङका बत्ती झलमल्ल बलिरहेका थिए । फेस्टिभलमा आएका हजारौँ मानिसहरू झलमल्ल सहरमा आनन्दपूर्वक घण्टौँसम्म टहलिरहेका थिए । फेस्टिभलको त्यो जीवन्त माहोलले हृदयमा कहिल्यै नमेटिने छाप छाड्दै थियो ।
फिल्मका प्रिमियर सोहरूको बेग्लै रौनक थियो । विश्वभरका प्रतिभाशाली नाम, फिल्म उद्योगका चर्चित हस्तीहरू प्रमुख आकर्षण बनेको थियो । कान्स फिल्म फेस्टिभलमा अवार्ड विजेता फिल्म ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ ‘नो अदर च्वइस’, ‘ह्याम्नेट’, ‘सेन्टिमेन्टल भ्यालु’, ‘होम बोउन्ड’, ‘निर्वाणा : द ब्यान्ड द सो द मुभी, ‘अब्सेसन’, ‘द फ्युरियस, ‘द रोड बिटविन अस : द अल्टिमेट रेस्क्यु’ ‘द स्म्यासिङ मेसिन’ ‘ क्रिस्टी’ ‘कुट्युर’ जस्ता चलचित्र प्रदर्शन हुँदै थिए । रेड कार्पेटमा जाफर पनाही, क्लोए झाओ, पार्क चान–उक, एन्जेलिना जोली, जान्ही कुपर, ली ड्वेन जोन्सन, एमिली ब्लन्ट, बेनी सफ्दी जस्ता चर्चित अनुहार देखिए ।
प्रिन्सेस अफ वाल्स थिएटर र रोयल एलेक्जेन्ड्रा थिएटरअगाडि दर्शकहरूको लामो लाइन देखिन्थ्यो । स्टारहरूलाई हेर्न घण्टौँ पर्खिरहेका मानिस सडकको दुवै किनारमा उत्साहका साथ उभिएका थिए । कलाकारहरू गाडीबाट ओर्लंदै गर्दा भिड उत्साहित हुँदै चिच्याउँथे, कोही सेल्फी खिच्ने प्रयास गर्थे, कोही अटोग्राफका लागि हात बढाउँथे । सडकको वरिपरि असंख्य सुरक्षाकर्मी पनि थिए । सबैभन्दा बढी उत्साह रेड कार्पेटमा देखिन्थ्यो । सेलिब्रेटीसँग सेल्फी खिच्दा अनुहारमा खुसीको आभा देखिन्थ्यो । थाहा भयो, टोरन्टोेमा सेलिब्रेटीको साँच्चै क्रेज रहेछ । त्यो दृश्य केवल स्टारडम मात्र थिएन, त्यो सिनेमाप्रतिको गहिरो प्रेम र समर्पणको झलक पनि थियो । सिनेमा संस्कृति र सिनेमा प्रेमको अद्भूत संगम पनि थियो ।
‘टिफ’ विश्व सिनेमाका पारखीहरूका लागि प्रमुख गन्तव्य रहेछ । मानिसहरू परिवारसहित महोत्सवमा आउँदा रहेछन् । सिनेमा कल्चरमा क्यानडा निकै अगाडि छ भन्ने परिचयसमेत दिइरहेको थियो ।
‘टिफ’ केवल फिल्मको प्रदर्शन मात्र होइन, विश्वभरका प्रतिभा र कथाबिच संवाद गर्ने साझा मञ्च रहेछ । विभिन्न भाषा र संस्कृतिका फिल्म विविधता र समावेशितालाई प्रोत्साहन गर्दोरहेछ, नयाँ प्रतिभाहरूले अन्तर्राष्ट्रियस्तरमा चिनिने अवसर पाउनेरहेछन् । विश्व सिनेमाको विविध दृष्टिकोणले नयाँ प्रतिभालाई उत्प्रेरित र अग्रसर गराउँदो रहेछ । जहाँ निर्देशक, निर्माता, कलाकार, समीक्षक, पत्रकार, दर्शक सबैलाई एउटै मञ्चमा ल्याउनेरहेछ ।
फेस्टिभल प्रिमियर सोहरूको रौनक बेग्लै थियो । खचाखच भरिएका हलहरू, चलचित्र सकिएपछि गुन्जिने स्ट्यान्डिङ ओभेसन, कलाकारप्रति दर्शकको सम्मानले फिल्मकर्मी उत्साहित देखिन्थे । फेस्टिभलमा विभिन्न देशका निर्माता, निर्देशक तथा युवापुस्ताको उपस्थिति बलियो देखिन्थ्यो ।
प्रेस तथा उद्योगका लागि नि:शुल्क स्क्रिनिङहरू थिए । सिनेप्लेक्स हल फिल्म समीक्षक, पत्रकार, फिल्मकर्मीहरूले खचाखच भरिएको थियो । झन्डै एक घण्टा लामो लाइनपछि हलभित्र प्रवेश गर्दा आनन्द लाग्यो । प्रविधिले भरिपूर्ण, गुणस्तरयुक्त हलमा बसेर फिल्म हेर्नुको आनन्दै बेग्लै थियो ।
फिल्म फेस्टिभलले क्यानडाको टुरिजम विकासलाई सहयोग गरेको रहेछ । लाखौँको संख्यामा पर्यटकको आगमन थियो ।
सिनेमा विचार र बहसको माध्यम पनि हो भन्ने यो महोत्सवलाई हेरे पुग्छ । महोत्सवमा दुई सयभन्दा माथि फरक–फरक भाषा, संस्कृति बोकेका चलचित्र प्रदर्शन थिए । फिल्महरूले सामाजिक, राजनीतिक र सांस्कृतिक विषयहरू प्रभावशाली ढंगले उठाएका थिए । दर्शकहरू केवल मनोरञ्जन खोज्न मात्रै पुगेका थिएनन्, आलोचनात्मक दृष्टिकोण राख्ने, सिनेमा बुझ्ने र महसुस गर्ने दर्शक बढी देखिन्थे ।
निर्देशक क्लोई जाओ निर्देशित फिल्म ‘ह्याम्नेट’ले पिपुल्स च्वाइस अवार्ड जित्यो । निर्देशक जाओको फिल्म ‘ह्याम्नेट’ले सबैको ध्यान तानेको थियो । ह्याम्नेटको जितलाई आगामी ओस्कार अवार्डका लागि पनि बलियो संकेतको रूपमा हेरिएको छ । टिफको पिपुल्स च्वाइस अवार्डलाई ‘अस्कर’को सूचक मानिने रहेछ ।
फिल्म ‘फ्रेन्केन्स्टाइन’ पुपिल्स च्वाइस अवार्डअन्तर्गत फस्र्ट रनरअप भयो । फिल्म ‘वेक अप डेड म्यान : अ नाइभ्स आउट मिस्ट्री’ सेकेन्ड रनरअप भयो । फेस्टिभलमा अन्य विजेता फिल्महरूले पनि दर्शकको निकै प्रशंसा पाए । फेस्टिभलमा पिपुल्स इन्टरनेसनल अवार्ड दक्षिण कोरियाली निर्देशक पार्क चान–वुक निर्देशित ‘नो अदर च्वाइस’ले पायो । यसअन्तर्गत फस्र्ट रनरअप फिल्म ‘सेन्टिमेन्टल भ्यालु’ र सेकेन्ड रनरअप उपविजेता ‘होम बोउन्ड’ भयो ।
संसारका उत्कृष्ट चलचित्र हेर्न पाउनु फिल्म फेस्टिभलको विशेषता हो । आफ्नो चलचित्रलाई प्रवद्र्धन र बजार विस्तार गर्नु पनि हो । त्यसैले फिल्म फेस्टिभल विभिन्न देशका निर्माता तथा वितरकहरूबिचको सहकार्यको थलो समेत रहेछ । आफ्नो देशको चलचित्र प्रवद्र्धनका लागि स्टलहरू राखिएको थियो । फेस्टिभलमा देशका चलचित्र प्रतिनिधिहरू उपस्थित थिए । उनीहरूले आफ्नो देशलाई चिनाइरहेका थिए । अझ ‘टिफ’ सिनेमाको रणनीतिक केन्द्रको रूपमा समेत चिनिनेरहेछ । जहाँ चलचित्र निर्माणका लागि सहकार्यको छलफल भइरहेको देखिन्थ्यो । यहाँ सबै किसिमका जात, धर्म, वर्ण, क्षेत्रका मानिसका संवेदना र संस्कृतिको अभिव्यक्ति अटाएका थिए । यस वर्ष फेस्टिभलमा राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा बनेका फिल्महरू प्राथमिकता परे । चलचित्रको माध्यमबाट विश्वका संस्कृति, भावना र कथाहरू आपसमा बाँडे ।
नेपाल विविधताले भरिपूर्ण देश हो । राजनीतिक परिवर्तन तथा परिवर्तित सामाजिक अवस्थाबारे यथार्थबोध गराउने सिनेमा अझै बनिसकेको छैन । त्यसैगरी, जातीय भेदभाव, महिला उत्पीडन समुदायका समस्या प्राथमिकता दिइएको छैन । हाम्रा चलचित्रमा देशबाहिर पुगेका नेपालीहरूका कथाव्यथा समेटिएकै छैनन् । ग्रामीण तथा सहरी जीवनका गम्भीर समस्या तथा विश्वव्यापीकरणका आन्तरिक प्रभावका विषय चलचित्रमा उतार्न बाँकी नै छ ।
‘टिफ’जस्ता फेस्टिभल नेपाली चलचित्रकर्मीका लागि सम्भावनाको ढोका हुन सक्छ । यस वर्ष टोरन्टोे, भेनिसजस्ता फेस्टिभलमा नेपाली सिनेमा पुगेनन् । कथाको खानी भएर पनि नेपालको चलचित्र त्यस्तो मञ्चमा नपुगेको देख्दा दु:ख लाग्यो । यस्ता चलचित्र निर्माणका निम्ति राज्यका तर्फबाटै प्रोत्साहनको व्यवस्था गरिनुपर्छ । त्यसका निम्ति विविध विषयका कथा, पटकथाहरूको प्रतियोगिता गराई उत्कृष्ट कथाका चलचित्रहरूलाई विशेष प्रोत्साहन एवं सुविधा प्रदान गर्न सकिन्छ । तर, नेपाली चलचित्र सीमित सूत्र र कथामै खुम्चिएको छ । संकीर्ण घेराबाट निस्किएर नयाँनयाँ सोचका चलचित्र बनाउनु चलचित्रकर्मीको जिम्मेवारी हो । टोरन्टोेजस्तो फेस्टिभलमा नेपाली चलचित्र पुग्न सके मात्रै नेपालको सुन्दर विविधता विश्वसामु पुग्नेछ । यसले नेपाली चलचिकर्मीहरूलाई सिर्जनशीलता, मौलिकता, प्राविधिक दक्षतामा ज्ञान हासिल गर्न प्रेरणा मिल्नेछ । हामीले हाम्रो कथा विश्वसामु पुर्याउँने हो भने यस्ता फेस्टिभलमा सहभागिता आवश्यक छ । नेपाली फिल्मकर्मीको लागि यस्ता फेस्टिभलहरू अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्ने सुनौलो अवसर पनि हो ।