१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक २६ शनिबार १७:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जात र धर्मका आधारमा हिंसा पैदा गर्न खोज्नु देशद्रोह : लिङ्देन 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २६ शनिबार १७:०८:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनका मुखमा जात र धर्मको आधारमा हिंसा मच्याउन खोज्नु देशद्रोह भएको बताएका छन्। 

शनिबार झापाको भद्रपुरमा पत्रकार सम्मेलन गर्दै लिङ्देनले आफूविरुद्ध निर्वाचनको मुखमा जात र धर्मको आधारमा घृणा पैदा गर्न खोजेको आरोप लगाएका हुन्।

केही दिनअघि आदिवासी जनजाति महासंघ झापाले उनी उम्मेदवार भएको झापा–३ मा उम्मेदवारसँग अन्तर्क्रिया गरेको थियो। उक्त अन्तर्क्रिया कार्यक्रममा लिङ्देनका प्रतिद्वन्द्वी कृष्णप्रसाद सिटौला मात्र पुगेका थिए। लिङ्देनलाई निमन्त्रणा दिँदा पनि नआएको महासंघले नै हल्ला फिँजाएको लिङ्देनको आरोप छ।

‘२/३ दिनअघि कांग्रेसको प्रायोजनमा जनजाति महासंघको भेला बोलाइयो। त्यहाँ मेरो प्रतिद्वन्द्वी उम्मेदवारलाई बोलाएको रहेछ। राजेन्द्र लिङ्देनलाई पनि बोलाइएको आएन भनेछन्। जातीय हिंसा पैदा गर्न खोजियो,’ उनले भने, ‘मलाई निमन्त्रणा गरिएको थिएन। निमन्त्रणा गरिएको पुष्टि भए म उम्मेदवारी त्यागेर कृष्णप्रसाद सिटौलालाई सहयोग गर्न तयार छु।’

उनले भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरे। आफू पहिचान विरोधी नभएको उनको भनाइ छ। तर, पहिचानका कुरा गर्दा राष्ट्रिय पहिचान भुल्न नहुने बताए। लिङ्देनले आफू जवाफदेहिताबाट नभाग्ने बताए। 

उनले आफू ०७४ मा प्रतिनिधिसभामा निर्वाचित भएपछि यो ठाउँले कोल्टे फेरेको दाबी गरे। ‘यो निर्वाचन क्षेत्रका जनताले कालोपत्रे सडक कस्तो हुन्छ भन्ने हेर्न बिर्तामोड कि बिहार जानुपर्थ्यो । ठाउँ–ठाउँ भएको कालोपत्रे हेर्न भद्रपुर आउनुपर्थ्यो। अहिले कालोपत्रे सडकले यो क्षेत्रका सबै वडालाई छोएको छु,' उनले भने, मेची, बिरिङ नदी पीडाको रूपमा थियो। अहिले तटबन्ध भएको छ।’