१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १५ शुक्रबार २२:१०:००
Read Time : > 1 मिनेट
प्रवास

केन्यामा अन्तर्राष्ट्रिय कफी सम्मेलनमा नेपाल सहभागी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १५ शुक्रबार २२:१०:००

अन्तर्राष्ट्रिय कफी संगठन (आइसियाे)को १२४ औं सम्मेलन केन्याको राजधानी नैरोवीमा शुक्रबार सम्पन्न भएको छ । केन्याटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कार्यक्रमको केन्याका राष्ट्रपति उहुरु केन्याटाले उद्घाटन गरेका थिए । 

पाँच दिवसीय सम्मेलनमा ब्राजिल, केन्या, मेक्सिको, जापान, फ्रान्स, नेपाल, भारत, भियतनाम र स्वीट्जरल्याण्डलगायत ५१ वटा मुलुकहरुका प्रतिनिधि र चीन, जमैका र लाओसलगायत मुलुकहरु पर्यवेक्षकका रुपमा सहभागी भएका थिए । सम्मेलनको पूर्ण बैठकलाई नेपाली प्रतिनिधि मण्डलका नेता तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका तर्फबाट नेपालका स्थायी प्रतिनिधि डा. दुर्गा बहादुर सुवेदीले सम्बोधन गरे । उनले कफी खेतीको इतिहास मात्र नभई अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालको संलग्नता अपेक्षाकृत नयाँ रहेको बताए । 

सन् २०१७ को मार्चमा पूर्ण सदस्यता प्राप्त गरेको नेपालले दुई वर्षमा अन्तर्राष्ट्रिय कफी संगठनको नेतृत्व तहमा पुग्नु महत्पूर्ण उपलब्धी भएको राजदूतको भनाई थियो । नेपाल सरकारले कफी खेती र उद्योगको विकासका लागि राष्ट्रिय कफी नीति कार्यान्वयन गरिरहेको पनि उनको भनाइ थियो । सुवेदीले सम्मेलनको तेस्रो सत्रको अध्यक्षता गरेका थिए ।  

सुवेदीले गणतन्त्र केन्याका राष्ट्रपति उहुरु केन्याटासँग शिष्टाचार भेट गरे । नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय कफी परिषदका नवनिर्वाचित अध्यक्ष श्रीमती स्टेफानी क्यूङ्ग तथा अन्तर्राष्ट्रिय कफी संगठनका कार्यकारी निर्देशक डा. जोसे सेट्टेसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेको थियो । भेटका अवसरमा काठमाडाैंमा आगामी अप्रिल १५ र १६, २०१९ मा आयोजना हुने कफी लगानीसम्बन्धी सम्मेलनको निमन्त्रणासमेत प्रदान गरेको थियो । 

नेपाली प्रतिनिधि मण्डलले सम्मेलनको तेस्रो दिन सम्पन्न कफी उत्पादक र आयातकर्ता एसियन राष्ट्रहरुको समूहको बैठकमा समेत सहभागी थिए । नेपाली प्रतिनिधि मण्डलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, बाेर्डका निर्देशक दीपक खनाल, प्रशासकीय अधिकृत देउकुमार सिगु, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका शाखा अधिकृत मोहोदत्त अधिकारी र नेपाली राजदूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरे रहेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।