१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Friday, 27 September, 2024
कृष्ण रिजाल काठमाडाैं
२o७९ कार्तिक २२ मंगलबार o६:३२:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

औद्योगिक शृंखला भत्किएर उद्योगहरू चरम संकटमा

औद्योगिक वस्तुको माग नै नभएपछि अधिकांश उद्योगले ७५ प्रतिशतसम्मले उत्पादन कटौती गरे, चालू पुँजी अभाव र चर्को ब्याजदरले उद्योगहरू मन्दीमा

Read Time : > 4 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार o६:३२:oo

आर्थिक मन्दीका कारण उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन् । औद्योगिक व्यवसायको शृंखला भत्किएर माग नै कम हुन थालेपछि उद्योगहरूले ७५ प्रतिशतसम्म उत्पादन कटौती गरेका हुन् । बजारमा औद्योगिक वस्तुको माग घटेको, माग भएका उद्योगसँग चालू पुँजी नभएको र बैंकको चर्को ब्याजदरले लागत बढाएको भन्दै उद्योगहरूले क्षमताको २५ देखि ३५ प्रतिशत मात्रै उत्पादन गरिरहेको व्यवसायीहरूले बताएका छन् । 

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अहिले उद्योगहरूले चरम आर्थिक संकट भोगिरहेको बताए । ‘एकातर्फ उद्योग चलाउन चालू पुँजी छैन, अर्कातर्फ पुरानो ऋणको ब्याज अस्वाभाविक बढेको छ,’ उनले भने, ‘चालू पुँजी नहुँदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।’ घरेलु तथा साना उद्योगहरूले ७५ प्रतिशतसम्म उत्पादन कटौती गरिसकेको उनले जानकारी दिए । ‘कतिपय बन्द हुने अवस्थामा पुगिसकेको छ, मुख्य कुरा उद्योगीको मनोबल गिरेको छ, यो गम्भीर विषय हो,’ उनले भने ।

उद्योग क्षेत्र अहिले तरलता अभाव, चर्को ब्याजदर, चालू पुँजी कर्जा कटौती, करमा ताकेता, माग घट्नु, बजार क्रेडिट नउठ्नुलगायत विभिन्न समस्यामा फसेको आचार्य बताउँछन् । ‘मेरो साढे दुई दशकको व्यावसायिक अनुभवमा यस्तो अवस्था र देखेको थिइनँ,’ उनले भने, ‘अहिले साँच्चै उद्योगहरू संकटमा फसेका छन्, उद्योगीलाई शंकाको दृष्टिकोणले मात्रै हेरेर चुप लागेर बस्ने हो भने त्यसको मूल्य निकट भविष्यमै देशको अर्थतन्त्रले व्यहोर्नेछ ।’ तत्काल वित्तीय र मौद्रिक उपकरणमार्फत तरलता बढाउने, ब्याजदर घटाउने एवं बजारमा माग बढाउने उपाय अपनाउनुपर्ने उनको सुझाव छ । 

उद्योगले कम उत्पादन गर्न थालेपछि विद्युत्को माग पनि आधाले घट्न थालेको छ । औद्योगिक करिडोरहरूमा विद्युत्को माग ५० प्रतिशत घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘बारा–पर्सामा डेढ–दुई सय मेगावाट र भैरहवा क्षेत्रमा डेढ सय मेगावाटजति विद्युत्को माग हुन्छ,’ उनले भने, ‘तर, अहिले उद्योगहरूले विद्युत्को माग आधाले घटाएका छन्, पैसा छैन भन्छन् ।’ निर्वाचनको माहोल भएकाले  निर्माण गतिविधि नभएको, माग कम भएको र बैंकिङ प्रणालीमा तरलता अभाव भएका कारण उत्पादन घटेको हुन सक्ने घिसिङको अनुमान छ । 

 १६ प्रतिशत मात्रै राजस्व संकलन
औद्योगिक व्यवसायमा मन्दी छाएपछि सरकारले राजस्वसमेत गुमाउन थालेको छ । चालू आर्थिक वर्षको पाँच महिना बित्नै लाग्दा सरकारले वार्षिक लक्ष्यको १६.४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । सरकारले चालू आवमा कुल १४ खर्ब तीन अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर, हालसम्म दुई खर्ब ३० अर्ब मात्रै राजस्व संकलन भएको छ । आयात निरुत्साहित नीतिले भन्सार राजस्व प्रभावित भएको तथा उद्योग–व्यवसायमा मन्दी आएका कारण आन्तरिक राजस्वमा भारी गिरावट आएको आन्तरिक राजस्व विभागका एक उच्च अधिकारीले बताए । ‘राजस्व संकलनको अवस्था हेर्दा उद्योगहरूमा मन्दी छाएको स्वतः आभास हुन्छ,’ उनले भने, ‘अवस्था यस्तै रहे यस वर्ष राजस्वको लक्ष्य भेट्ने होइन, नजिक पुग्नसमेत गाह्रो हुन्छ, सरकारलाई खर्च धान्नसमेत गाह्रो हुनेछ ।’

अहिले निर्माणजन्य, कपडा, फर्मास्युटिकल्स, फुटवेयरलगायत अधिकांश उद्योगमा मन्दी छाएको छ, नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य एवं उद्योग समितिका सभापति भरतराज आचार्यले बताए । ‘अहिले औद्योगिक व्यवसायको चक्र नै टुटेको छ । बजारमा वस्तुको माग आएको छैन, ब्याजदर उच्च छ, कर्जा प्राप्त गर्न सकिएको छैन, चालू पुँजी पनि छैन, यस्ता तमाम कारणले उद्योगहरूले आफ्नो उत्पादन ७० प्रतिशतसम्मले कटौती गरेका छन्,’ उनले भने, अहिले साना–ठूला सबैखाले उद्योग चरम संकटमा परेका छन् । उद्योग नै बन्द भएको जानकारी त आएको छैन, तर बन्द हुने अवस्थामा चाहिँ पुगिसकेका छन् ।’

 निर्माणजन्य उद्योग सबैभन्दा बढी प्रभावित 
औद्योगिक शृंखला प्रभावित भएपछि निर्माणजन्य सामग्री उत्पादक सिमेन्ट, डन्डी, केबुल, आइरन तथा स्टिल उद्योगहरू सबैभन्दा बढी समस्यामा परेका छन् । बजारमा माग नै नभएपछि भैरहवामा रहेको देशकै पुरानोमध्येको पञ्चकन्या स्टिल उद्योग अनिश्चितकालीन बन्द भएको छ । सञ्चालनमा रहेका उद्योगहरू पनि निकै कम क्षमतामा सञ्चालन भइरहेको सम्बन्धित उद्योगी–व्यवसायीको भनाइ छ ।

हालै उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ र मोरङ व्यापार संघले संयुक्त रूपमा तरलता अभाव र ब्याजदर वृद्धिबाट औद्योगिक क्षेत्रमा परेको प्रभावबारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणले निर्माण सामग्री उत्पादक उद्योग सबैभन्दा बढी प्रभावित भएको देखाएको छ । गत वर्षको तुलनामा यो वर्षको पहिलो दुई महिनामा निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूले आफ्नो उत्पादनको माग ५० देखि ७५ प्रतिशतसम्म घटेको सर्वेक्षणमा सहभागी व्यवसासीले बताएका छन् । अन्य सबै प्रकारका उद्योगहरूको उत्पादनको बजार २५ देखि ५० प्रतिशतसम्मले घटेको छ । ब्याजदर वृद्धि, मुद्रास्फीति, पेट्रोलियमको मूल्यवृद्धि, डलरको भाउ वृद्धि, माग नहुँदा मालसामान गोदाममा थन्क्याउँदा बढेको खर्चका कारण प्रतिइकाइ उत्पादन लागत अस्वाभाविक रूपमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ ।

 आन्दोलनमा उद्यमी–व्यवसायी
चाल पुँजी अभाव, चर्को ब्याजदरलगायत कारणले उद्योग–व्यवसाय बन्द नै गर्नुपर्ने अवस्था आएको भन्दै उद्योगी–व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघले गत शुक्रबार संयुक्त रूपमा माइतीघरमा शान्तिपूर्ण धर्ना दिए । ब्याजदर घटाउनुपर्ने र साँवा–ब्याज तिर्ने समय सार्नुपर्ने माग गर्दैै जिल्ला, क्षेत्रीय तथा अन्य संगठनहरूले देशव्यापी आन्दोलन सुरु गरेका छन् । रुपन्देहीका ५० भन्दा बढी व्यावसायिक संगठनले सडकमै उत्रिएर विरोध जनाइसकेका छन् । पोखराका व्यवसायीले पनि ब्याजदर वृद्धिको विरोध गर्दै आइरहेका छन् । वर्तमान समस्याको मुख्य कारक तरलता अभाव र चर्को ब्याजदरसमेत भएकाले त्यसलाई अविलम्ब समाधान गरिनुपर्ने उनीहरूको माग छ ।

विद्युत्को औद्योगिक खपत आधाले घटेको छ
कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

औद्योगिक करिडोरहरूमा विद्युत्को खपत घटेको छ । विद्युत्को औद्योगिक खपत झन्डै आधाले नै कम भएको छ । सामान्यतः बारा–पर्सामा डेढ–दुई सय मेगावाट र भैरहवा क्षेत्रमा डेढ सय मेगावाटजति विद्युत्को माग हुन्छ । तर, ती क्षेत्रका अहिले उद्योगहरूले विद्युत्को माग आधाले घटाएका छन्, पैसा छैन भन्छन् । अहिले निर्वाचन भएका कारण निर्माण गतिविधि नभएको, माग कम भएको र बैंकिङ प्रणालीमा तरलता अभाव भएका कारण उत्पादन घटेको हुन सक्छ । 

साना–ठूला सबैखाले उद्योग चरम संकटमा परेका छन्
भरतराज आचार्य, सभापति, उद्योग समिति, नेउवा महासंघ

अहिले साना–ठूला सबैखाले उद्योग चरम संकटमा परेका छन् । उद्योग नै बन्द भएको जानकारी त आएको छैन, तर बन्द हुने अवस्थामा चाहिँ पुगिसकेका छन् । सबैभन्दा मुख्य कुरा बजारमा माग नै छैन । औद्योगिक व्यवसायको चक्र नै टुटेको छ । बजारमा वस्तुको माग आएको छैन, ब्याजदर उच्च छ, कर्जा प्राप्त गर्न सकिएको छैन, चालू पुँजी पनि छैन, यस्ता तमाम कारणले उद्योगहरूले आफ्नो उत्पादन ७० प्रतिशतसम्मले कटौती गरेका छन् । उद्योगहरूले ३०–३५ प्रतिशत मात्रै क्षमता उपयोग गरिरहेका छन् । 

उद्योगमा देखिएको संकटको प्रभावत अहिल्यै पनि देखिन थालिसकेको छ । दीर्घकालीन प्रभाव त क्रमशः देखिने नै छ । उद्योगहरूले बिजुली लिन छाडिसकेका छन् । यो परिस्थिति कायम नै रहे उद्योगहरूले बैंकको साँवा–ब्याज भुक्तानी गर्न सक्दैनन्, तलब दिन सक्दैनन्, कर्मचारी कटौती हुन सक्नेछन्, सरकारले राजस्व गुमाउनेछ । 

घरेलु तथा साना उद्योगले ७५ प्रतिशत उत्पादन कटौती गरेका छन्
उमेशप्रसाद सिंह, अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ

अहिले उद्योगहरूले चरम आर्थिक संकट भोगिरहेका छन् । एकातर्फ उद्योग चलाउन पुँजी छैन अर्कातर्फ पुरानो ऋणको ब्याज अस्वाभाविक बढेको छ । चालू पुँजी नहुँदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । कोभिडबाट प्रभावित उद्योगहरू बल्लतल्ल अलि–अलि पुनरुत्थान हुन थालेका थिए । तर, वित्तीय कारण समस्यामा फसे । अहिले थुप्रै उद्योगहरू लिलामीको ३५ दिने सूचना कुरिरहेका छन् । 

हामीसँग चालू पुँजी छैन । बैंकले स्वीकृत गरेको कर्जासमेत उपलब्ध गराएको छैन । तर, ब्याज र प्रिमियम अस्वाभाविक बढाएको छ । बैंकहरूले मनोपोली गरेका छन् । घरेलु तथा साना उद्योगहरूले ७५ प्रतिशतसम्म उत्पादन कटौती गरिसकेका छन् । कतिपय बन्द हुने अवस्थामा पुगिसकेका छन् । उद्योगीको मनोबल गिरेको छ, यो गम्भीर अवस्था हो ।