मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक २० आइतबार १३:३०:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

उदयपुर १ : खड्का जित दोहोर्‍याउन, चौधरी हारको बदला लिन प्रयासरत

Read Time : > 2 मिनेट
२०७९ कार्तिक २० आइतबार १३:३०:००

प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर १ मा कांग्रेस नेता एवं परराष्ट्रमन्त्री डा. नारायण खड्का र  पूर्वसहरी विकास राज्यमन्त्री रहेकी एमाले नेतृ मञ्जु चौधरी प्रतिस्पर्धामा छन् । खड्का ०६४ यता यस निर्वाचन क्षेत्रमा लगातार जितिरहेका छन् ।

०७४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनअघि उदयपुरमा तीन निर्वाचन क्षेत्र थियो । जसमा खड्का ०७० सालको संविधानसभा निर्वाचनमा साविकको उदयपुर १ बाट निर्वाचित भएका थिए भने चौधरी ०७० सालको निर्वाचनमा उदयपुर २ बाट विजयी भएकी थिइन् ।

०७४ निर्वाचनमा खड्काले चौधरीलाई पराजित गरेका थिए । त्यसवेला माओवादीले एमालेलाई सघाएको थियो । यसपटक माओवादी र एमाले फुटेर बनेको एकीकृत समाजवादीको समर्थन खड्कालाई छ । कम्युनिस्टहरूको पकड मानिएको यो क्षेत्रमा  पहिलो संविधानसभा ०६४ देखि ०७४ सम्म खड्काले चुनाव जित्दै आएका छन् । 

खड्काले तत्कालीन ०७४ मा वाम गठबन्धनकी उम्मेदवार चौधरीलाई पाँच सय ४८ मतले पराजित गरेका थिए । खड्काले ३३ हजार एक सय ४२ र चौधरीले ३२ हजार पाँच सय ९४ मत पाएका थिए । यो क्षेत्रमा बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका पर्दछन् ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा र चौदण्डीगढी नगरपालिकामा कांग्रेसले एकल चुनावी प्रतिस्पर्धा गरेको थियो । त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्तकुमार बस्नेतले १३ हजार नाै सय ५९ पाएर जितेका थिए । एमालेका भागवत राउतले ११ हजार आठ सय ७३ मत पाएका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट कलम चुनाव चिह्नमा बलदेव चौधरीले नाै हजार एक सय ४७ मत पाएका थिए ।

बेलका नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन उम्मेदवार कांग्रेसका अशोककुमार कार्कीले १० हजार एक सय २० मत पाएर जितेका थिए । उनका प्रतिद्वन्द्वी एमाले दुर्गाकुमार थापा स्वस्तिकले ६ हजार नाै सय ८० मत पाएका थिए । 

यता चौदण्डीगढी नगरपालिका मेयरमा एमालेका कालुमान लामाले आठ हजार आठ सय ६३ मत पाएर जितेका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र राईले आठ हजार १२ मत पाएका थिए । चौदण्डीमा पनि एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन थियो । जसमा एकीकृत समाजवादीका नरेन्द्रकुमार राउतले चार हजार तीन सय ७५ मत पाएका थिए ।

त्रियुगा नगरपालिकाको उपमेयरमा एमालेकी महेश्वरी राई १३ हजार सात सय तीन मत पाएर निर्वाचित भएकी थिइन् । कांग्रेसकी सरिता राईले ११ हजार नाै सय ८१ र एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट माओवादीकी गीता खड्का कार्कीले ६ हजार पाँच सय ६८ मत पाएकी थिइन् ।

यसैगरी चौदण्डीगढी नगरपालिकाको उपमेयरमा एमालेकी मणिकला दुलाल नाै हजार पाँच सय ६६ मतले निर्वाचित भएकी थिइन् । यता कांग्रेसी रिताकुमारी चौधरी सात हजार सात सय ६० र माओवादीकी हिरा थापा (तिम्लसिना) ले तीन हजार पाँच सय ११ मत पाएर पराजित भएका थिए ।

बेलका नगरपालिकामा एमालेकी एमालेकी जिरा राई आठ हजार सात सय २६ मतले निर्वाचित भएकी थिइन् । माओवादी केन्द्र र कांग्रेको गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका मनोज तामाङले सात हजार चार सय ९५ मत पाएर पराजित भएका थिए ।  

उदयपुरका स्थानीय बुद्धिजीवी बोधकुमार घिमिरले प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा रहेको गठबन्धन सहज जित हुने बताउँछन् । उनी भन्छन्, ‘कांग्रेसको मतमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत थपिएको खण्डमा गठबन्धनको तर्फबाट खड्काको जिते हुने देखिन्छ ।’

प्रतिनिधिसभा १ को (क) माओवादी केन्द्रका राजन किराती र (ख) कांग्रेसका हिमाल कार्की प्रदेश १ सभाको लागि उम्मेदवार रहेका छन् ।

यता ०७९ को स्थानीय तहको वडाध्यक्षको मत पनि यस्तो रहेको छ । जसमा त्रियुगा नगरपाकिलामा कांग्रेसबाट उठेका वडाध्यक्षहरूले जम्मा १३ हजार ६ सय ४३ मत पाएका थिए । यसैगरी एमालेबाट उठेका वडाध्यक्षहरूले जम्मा ११ हजार तीन सय ६० मत पाएका थिए । नेकपा माओवादी केन्द्रबाट उठेका वडाध्यक्षहरूले जम्मा ६ हजार दुई सय ९६ मत पाएका थिए । कलम चिह्नबाट उठेका वडाध्यक्षहरूले जम्मा दुई हजार आठ सय ७७ मत पाएका थिए ।  चौदण्डीगढी नगरपालिकामा कांग्रेसबाट उठेका वडाध्यक्षहरूले जम्मा आठ हजार सात सय ९७ मत पाएका थिए । एमालेबाट उठेका वडाध्यक्षहरूले नाै हजार तीन सय ७८ मत पाएका थिए ।

नेकपा माओवादी केन्द्रबाट उठेका वडाध्यक्षहरूले एक हजार नाै सय १५ मत पाएका थिए । एकीकृत समाजवादीबाट उठेका वडाध्यक्षहरूले एक सय ४९ मत पाएका थिए ।

बेलका नगरपालिका कांग्रेसबाट उठेका वडाध्यक्षहरूले पाँच हजार ९९ मत पाएका थिए ।  एमालेबाट उठेकाले सात हजार ५९ मत पाएका थिए । माओवादी केन्द्रबाट उठेकाले तीन हजार एक सय ८९ मत पाएका थिए भने एकीकृत समाजवादीले चार सय आठ मत पाएको थियो ।