Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ कार्तिक २० आइतबार १२:३७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँ १ : पौडेललाई जोशीको डर, रानाको चुनौती

Read Time : > 2 मिनेट
२०७९ कार्तिक २० आइतबार १२:३७:००

तनहुँ कांग्रेसको गढ भनेर चिनिने भए पनि पौडेल र जोशीको द्वन्द्वका कारण कमजोर बन्दै गएको जिल्लास्थित नेता तथा कार्यकताको गुनासो छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा पार्टीका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रले चुनौती थपेका छन् । तनहुँ १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेल अंकगणितमा अघि देखिए पनि उनको जितमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र एमाले उम्मेदावार एकबहादुर राना मुख्य चुनौती भएका छन् । 

तनहुँको १ मा कांग्रेसका पौडेल, एमालेका राना र स्वतन्त्र उम्मेदवार जोशीबीच प्रतिस्पर्धा जनताको मन जित्ने दाउमा छन् । गठबन्धनका उम्मेदवार पौडेललाई जिताउनका लागि यतिखेर गठबन्धनका नेता कार्यकर्ता भेटघाटमा व्यस्त भएका छन् । त्यस्तै, पुर्वगृहमन्त्री जनता प्रभावमा पार्दै जोशी पनि घरदैलो गरिरहेका छन् । एमालेका एकबहादुर रानाले कांग्रेसका नेतामा देखिएको विवादको फाइदा उठाएर जित हात पार्ने आशासहित मतदातालाई रिझाउन गाउँ पसेका छन् । निर्वाचन नजिकिएसँगै तीनैजना उम्मेदवार कार्यकर्ता भेटघाटमा व्यस्त भएका हुन् । कांग्रेसका पूर्वनेता जोशीलाई मिलाउन नसक्दा गठबन्धनका साझा उम्मेदवार पौडेल आफैँ कमजोर बनेका छन् ।

लगातार पाँचपटकसम्म संसदीय निर्वाचन जितेका पौडेलले ०७४ मा एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् । उनी बाराबाट निर्वाचन लड्दै छन् । तनहुँ कांग्रेसको गढ भनेर चिनिने भए पनि पौडेल र जोशीको द्वन्द्वका कारण कमजोर बन्दै गएको जिल्लास्थित नेता तथा कार्यकताको गुनासो छ ।

दुई नेता एकले अर्कोलाई स्वीकार गर्न नसक्ने भए पनि यहाँको संगठन कमजोर बन्दै गएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए । विगतका निर्वाचनमा पौडेल र जोशी दुवैजना छुटाछुटै क्षेत्रबाट चुनाव लड्थे, दुवैले जित्थे र मन्त्री पनि भएका थिए । ‘उनीहरू पटक–पटक मन्त्री पनि बने । त्यतिखेर यहाँको विकास पनि भएको थियो । तर, पछिल्लो समय दुई नेताबीचको अन्तद्र्वन्द्वका कारण कांग्रेसलाई क्षति पुगेको छ,’ उनले भने । 

पौडेलका परम्परागत प्रतिस्पर्धी जोशी पनि मैदानमा
०७४ मा जोशीले पौडेलको विरुद्धमा उम्मेदवारी दिएपछि पार्टीले साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरेको थियो । यी दुई नेताको विवादले गर्दा केही हदसम्म एमाालेलाई फाइदा पुग्ने देखिएको छ । सातौँपटक निर्वाचनमा होमिएका पौडेलले एमालेका रानासँग प्रतिस्पर्धा त गर्नैपर्छ त्यसमाथि यसपटक जोशीसँग पनि सामना गर्नुपर्ने देखिन्छ । जोशीलाई कांग्रेसकै मत धेरै जाने भएकाले पौडेल सशंकित छन् । पौडेल यसपटक चुनाव जितेर प्रधानमन्त्री बन्ने दाउमा रहेको उनका नजिकका कार्यकर्ता बताउँछन् ।

उनले पटक–पटक सञ्चारकर्मीसँग देउवाले समेत सकारात्मक रूपमा संकेत दिएको बताएका थिए । त्यसैले पनि पौडेल जसरी पनि निर्वाचन जित्ने दौडमा छन् । तर, उनको चुनाव जित्ने चाहनामा जोशीले नै ‘ब्रेक’लगाउन सक्ने चुनौती खडा भएको बहस हुने गरेको छ । पाँचदलीय सत्तागठबन्धनका चुनावी कमान्डर बनेका पौडेल अहिलेको चुनावमा भने उनी आफैँ ढुक्क छैनन् । केन्द्रमा राम्रो पकड भएका पौडेलले निषेधको राजनीति गरेर जोशीलाई फसाएको आरोप जोशी पक्षधरले लगाउने गरेका छन् । त्यसकोे बदला लिन जोशीले उम्मेदवारी दिएका हुन् ।

स्थानीय तहको वडाध्यक्ष र मेयरले पाएको मतको नतिजा हेर्ने हो भने गठबन्धन दल २१ हजारभन्दा बढी मतले अगाडि छ । तर, तनहुँ कांग्रेसभित्र चर्को असन्तुस्टि, अन्तर्घात र जोशीको चुनौती पौडेलका लागि खतरा बन्ने विश्लेषण छ । 

जोशीले पौडेलको भोट काट्ने रानाको आस
कांग्रेसमा देखिएको विवादको फाइदा लिन एमाले जुटिरहेको छ । सुरुमा एमालेले उम्मेदवारी फिर्ता लिएर जोशीलाई समर्थन गर्ने योजना बनाएको भए पनि अन्तिम समयमा एमालेले रानालाई नै निरन्तरता दिएको थियो । रानाले आफू कार्यकर्ताको माझ लोकप्रिय रहेकाले चुनाव जित्नेमा आशावादी रहेको बताए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखमा गोविन्दराजका छोरा दीपकराजलाई एमालेले समर्थन गरेको थियो । त्यतिखेर जोशी कांग्रेसका वैकुण्ठ न्यौपानेसँग दुई सय ५२ मतको अन्तरले पराजित भएका थिए । अहिले जोशी र पौडेल प्रतिस्पर्धा गर्दा एमालेलाई फाइदा पुग्ने आकलन गरेका छन् ।