मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिनेश चुल्याद्यो
२०७९ कार्तिक २० आइतबार १०:१७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अवैध मोबाइलले गुम्दै छ अर्बौँ राजस्व

Read Time : > 4 मिनेट
दिनेश चुल्याद्यो
२०७९ कार्तिक २० आइतबार १०:१७:००

नेपाल आउनेमध्ये १५ अर्ब रुपैयाँबराबरका मोबाइल अवैध माध्यमबाट अर्थात् विभिन्न नाकाबाट गैरकानुनी रूपमा भित्रिन्छन्

नेपाल दूरसञ्चार प्राधिकरणले गत असोज एक गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएको हो । धेरै लामो समयको प्रयासपछि यो सिस्टम सञ्चालनमा आएको हो । यसले मोबाइल प्रयोगकर्ता, मोबाइल व्यवसायी र समग्र राष्ट्रका लागि नै हित गर्छ । 

हाम्रो तथ्यांकअनुसार नेपालमा भित्रिने मोबाइलमध्ये १५ अर्ब रुपैयाँबराबरको मोबाइल अवैध माध्यमबाट भित्रिन्छ, अर्थात् विभिन्न नाकाबाट गैरकानुनीमा रूपमा नेपालमा मोबाइल भित्रिन्छ । सरकारले व्यवसायीका लागि कुल १८ प्रतिशत कर लगाएको छ । तर, अवैध रूपमा भित्रिएको मोबाइलले सरकारलाई राजस्व भुक्तानी गरेका हुँदैनन् । तसर्थ, सरकारले बर्सेनि अर्बौं रुपैयाँ राजस्व गुमाइरहेको त छ नै, साथै अवैध रूपमा भित्रिएका मोबाइल आपराधिक गतिविधिमा प्रयोग भइरहेको पाइन्छ । एकातिर यसले आपराधिक गतिविधिलाई प्रोत्साहित गरिरहेको हुन्छ भने अर्कातिर व्यापारीलाई निरुत्साहित गर्दै आइरहेको छ । 

तर, एमडिएमएस सिस्टमको प्रयोगपछि यस्ता खालका गतिविधि बन्द हुन्छन् । यो सिस्टमको सञ्चालनपछि नेपाल भित्रिने प्रत्येक मोबाइलको आइएमइए नम्बर सिस्टममा दर्ता भएको हुनुपर्छ । अन्यथा, नेपालभित्र त्यस्ता मोबाइल चल्दैनन् । तसर्थ, यो सिस्टमको प्रयोगले अवैध मोबाइलको आयात रोकिनेछ । सबै मोबाइल औपचारिक रूपमा भित्रिएपछि सरकारको राजस्वसमेत वृद्धि हुनेछ । 

त्यस्तै, मोबाइल हराएमा ट्र्याक र ब्लक तत्काल गर्न सकिनेछ । आपराधिक गतिविधिमा चोरी भएका र हराएका मोबाइल प्रयोग हुने गरेको छ । तर, यो प्रणालीले मोबाइललाई तत्कालै ट्र्याक गर्न सकिने भएकाले यस्ता गतिविधिमा पनि न्यूनीकरण हुनेछ । 

यो प्रणालीलाई प्राधिकरणले अहिले सफ्ट लन्च मात्रै गरेको छ । आगामी दुई महिनाभित्रमा प्रणालीमा फुल फेजमा सञ्चालनमा हुनेछ । प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि अनौपचारिक माध्यमबाट भित्रिएका मोबाइल स्वतः ब्लक हुनेछन् । प्राधिकरणले यो सिस्टम सञ्चालनमा ल्याएपछि व्यवसायी साँच्चिकै उत्साहित भएका छन् । 

प्राधिकरणको अनुमतिपछि मात्रै व्यवसायीले मोबाइल आयात गर्न पाउँछन् : आयातकर्ताले नेपालमा मोबाइल भित्र्याउनुअघि नेपाल दूरसञ्चार प्राधिकरणसँग अनुमति लिनुपर्नेछ । व्यवसायीले मोबाइल भन्सारमा आइसकेपछि त्यसको आइएमइआइ नम्बर प्राधिकरणमा पठाउनुपर्छ । प्राधिकरणले उक्त नम्बरलाई टाइप अप्रुभ भए/नभएको प्रमाणित गर्छ । अर्थात्, मोबाइल आयातकर्ताले पठाएको मोबाइल बजारमा आउनका लागि प्रमाणित भएको छ वा छैन भनी प्राधिकरणले प्रमाणीकरण गर्छ । प्रमाणित भैइसकेपछि आयातकर्तालाई प्राधिकरणले नै ‘नो अब्जेक्सन लेटर’ जारी गर्छ । सोही लेटर भन्सारमा पेस गरेपछि आयातकर्ताले मोबाइल नेपाल भित्र्याउन पाउँछन् । यसरी औपचारिक रूपमा भित्र्याइएका मोबाइल स्वतः प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भइसकेका हुन्छन् । तसर्थ, बजारमा ल्याइएका मोबाइल एमडिएमएसमा दर्ता भइसकेको हुनाले व्यक्तिले पुनः दर्ता गर्नुपर्ने झन्झट हुँदैन ।

मोबाइल फोन प्रयोगले मानिसको जीवनशैलीलाई जति सहज बनाइदिएको छ, उति नै जोखिम पनि बढेको छ । मोबाइलको दुरुपयोगले युवापुस्ता यौनजन्य हिंसाको चपेटामा पर्न थालेका छन् भने बालबालिका विभिन्न गेमको लतमा परेका छन् ।

यद्यपि, कुनै पनि व्यक्तिले मोबाइल खरिद गर्दा सो मोबाइल प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए/नभएको हेरेर मात्रै खरिद गर्नु उचित हुन्छ । यसका लागि प्राधिकरणको एमडिएमएस वेबसाइटमा गएर मोबाइल आइएमइआई नम्बर राखेर हेर्न सकिन्छ ।

कोभिडपछि घट्न थाल्यो व्यापार : कोभिड संक्रमणको अवधिमा नेपालमा मोबाइलको व्यापार नाटकीय रूपमा नै बढ्यो । कोभिडअघि २४ अर्ब रुपैयाँको व्यापार भइरहेको अवस्थामा एक्कासि बढेर ३६ अर्ब रुपैयाँसम्म पुग्यो । आर्थिक वर्ष ०७८/७९ मा ३८ अर्ब रुपैयाँबराबरको व्यापार भयो । आव ०७७/७८ मा भने करिब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल व्यापार भएको थियो । गत वर्ष १० अर्ब हाराहारीको अबैध मोबाइल नेपाल भित्रिए । यस्तै, अघिल्लो आवमा नौ अर्ब रुपैयाँबराबरको अवैध मोबाइल भित्रिए । तर, अहिले भने मोबाइल व्यापार बिस्तारै घट्न थालेको छ । त्यतिवेला मोबाइल व्यापार बढी भयो । सबैको हातहातमा पुग्यो । त्यसैले पनि अहिले मानिसलाई यसको कम आवश्यकता भएको हुन सक्छ । 

कोभिड संक्रमणको समयमा मोबाइलको व्यापार बढ्नुको मुख्य कारण मानिस घरबाट बाहिर निस्कन नपाउनु हो । संक्रमणका कारण पूरै विश्व ठप्प भयो । नेपाल सरकारले पनि लकडाउन गरिदियो । पहिलो लकडाउन त मानिसले रमाइलो गरेरै बिताए । तर, बिस्तारै घरभित्रै बन्धक हुँदा मान्छे आजित हुन थाले । उनीहरूसँग समय बिताउने काम भएन । परिवारभित्रै पनि कोही कोभिडले संक्रमित हुँदा फरक–फरक कोठामा बन्धक भए । त्यसपछि त मान्छे झन् एक्लो हुन थाल्यो । त्यसैले त्यो समयमा मोबाइल नै समय बिताउने उपयुक्त माध्यम बन्यो । पहिलोपटकको लकडाउनमा मानिससँग पैसा पनि थियो । जसकारण महँगा–महँगा मोबाइल खरिद गरे । 

लकडाउन बढ्दै गएपछि मोबाइल झनै अपरिहार्य बन्यो । पछि विद्यालय तथा कार्यालयले अनलाइनमार्फत नै अध्यापन र अन्य काम गर्न थाले । अनलाइन क्लासका लागि मोबाइल झनै आवश्यक बन्यो । परिवारमा जतिजना बच्चा छन्, त्यतिवटा नै मोबाइल आवश्यक पर्ने भयो । यसले पनि मोबाइलको व्यापार ह्वात्तै बढाइदियो । 

५० प्रतिशत मोबाइल चीनबाट भित्रिन्छन् : नेपालमा आयात हुने मोबाइलमध्ये ५० प्रतिशत मोबाइल चीनबाट भित्रिन्छन् । यस्तै, ३५ प्रतिशत मोबाइल भारतबाट र बाँकी १५ प्रतिशत कोरियाबाट भित्रिन्छन् । चिनले नेपालीलाई लक्षित गरी विभिन्न प्रकारका मोबाइल उत्पादन गर्छ । सामान्य व्यक्तिले बोक्न सक्नेदेखि लिएर धनाढ्य व्यक्तिले पनि लिने खालका स्मार्ट मोबाइल चिनले निर्यात गर्छ ।

नेपालमा स्मार्ट र किप्याडवाला दुवै खालका मोबाइल बिक्री हुन्छन् । स्मार्ट मोबाइलको बजार हिस्सा ४० प्रतिशत छ भने किप्याडवाला मोबाइलको बजार हिस्सा ६० प्रतिशत छ । नेपालमा दूरसञ्चारको पहुँच बढ्दै गएपछि ग्रामीण भेगमा मोबाइलको माग बढ्दै गएको छ । ग्रामिण क्षेत्रका बासिन्दा प्रायजसो किप्याडवाला मोबाइल नै प्रयोग गर्छन् । त्यस्तै, अहिले स्मार्ट र आइफोन प्रयोग गर्ने व्यक्तिले पनि साथमा एउटा किप्याडवाला मोबाइल लिइरहेको देख्न सकिन्छ । यसर्थ, आज पनि किप्याडवाला मोबाइलको माग उत्तिकै छ । 

पाँच वर्षअगाडि मात्रै पनि मोबाइल एक–अर्का व्यक्तिलाई सम्पर्क गर्नका लागि मात्रै प्रयोग गरिन्थ्यो । बिस्तारै मानिसले युट्युब, फेसबुक, भाइबरजस्ता सञ्चारमाध्यम चलाउन मोबाइलको प्रयोग हुन थाल्यो । तर, अबका दिनमा मोबाइलको प्रयोग त्यसमा मात्रै सीमित छैन । आजका दिनमा मानिसले पठाओ, ई–सेवा, फोनपे, अनलाइन सपिङजस्ता कामका लागि पनि मोबाइल नै प्रयोग गर्न थालेका छन् । आगामी दिनमा माबोइलको प्रयोगमा विविधता आउनेछ । मानिसले मनोरञ्जन र सञ्चारका लागि मात्रै हैन, दैनिक जीवनयापनका लागि आवश्यक पर्ने हरेक गतिविधि मोबाइलबाट नै हुनेछ । जस्तै, तरकारी खरिद गर्न, औषधि खरिद गर्न, डाक्टरसँग समय लिन, विभिन्न उपभोग्य वस्तुको बिल भुक्तानी गर्न, विद्यालय, बिमालगायतको किस्ता र फी भुक्तानी गर्न, बैकिङ कारोबार गर्नसमेत मोबाइलको नै प्रयोग हुनेछ । त्यसैले आगामी दिनमा मोबाइलको प्रयोग झनै बढ्नेछ । 

मोबाइल प्रयोगमा चेतना बढाउनुपर्छ : मोबाइल फोनको प्रयोगले मानिसको जीवनशैलीलाई जति सहज बनाइदिएको छ, उति नै जोखिम पनि बढेको छ । मोबाइलको उचित प्रयोग गर्न नसक्दा विभिन्न जोखिम बढ्दै गएका छन् । युवापुस्ता यौनजन्य हिंसाको चपेटामा पर्न थालेका छन् भने बालबालिका विभिन्न गेमको लतमा परेका छन् । त्यस्तै, कतिपयले मोबाइल फोनको प्रयोग गरी विभिन्न अश्लील सामग्री निर्माण गर्ने र दुस्मनी भएका व्यक्तिको बेइज्जत गरिदिने जस्ता नकारात्मक काम पनि बढ्दै गएका छन् । 

अतः मोबाइल फोनको प्रयोगसँगै यसको उचित प्रयोगका लागि समय–समयमा विभिन्न खालका  जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्न जरुरी छ । घरमा बालबालिका छन् भने अभिभावक बढी जिम्मेवार हुुनुपर्छ । कुन उमेरमा छोराछोरीलाई मोबाइल प्रयोग गर्न दिने भन्ने विषयमा अभिभावक सचेत हुनुपर्छ । कुन समयमा बच्चालाई इन्टरनेट प्रयोग गर्न दिने भन्ने विषयमा पनि सचेत हुनुपर्छ, प्रयोग गर्न दिएर मात्रै हुँदैन । 

त्यस्तै, मोबाइल वितरक संघले पनि विभिन्न समयमा ११ र १२ कक्षाका विद्यार्थीका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा हामीले यसलाई झनै व्यवस्थित बनाएर आगाडि लैजाने सोच बनाएका छौँ ।