Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक १८ शुक्रबार ०७:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सर्वसाधारणलाई भारतबाट चामल ल्याउन नेपालगन्ज भन्सारको कडाइ

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १८ शुक्रबार ०७:४९:००

नेपालगन्ज भन्सार कार्यालयले भारतबाट चामल ल्याउन कडाइ गरेको छ । घरायसी उपभोगका लागि भन्दै सर्वसाधारणले राजस्व नतिरी चामल ल्याउन थालेपछि कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले बताए । आफ्नै प्रयोगका लागि भन्दै सर्वसाधारणले भारतबाट खुलेआम चामल ल्याउँदा राजस्व घट्नुका साथै नेपालगन्जको व्यापारमा समेत असर गरेको उनको भनाइ छ । ‘भन्सार ऐनअनुसार एक बोरा चामलको सय रुपैयाँ राजस्व लाग्छ । कडाइ भएपछि यसले राजस्व बढ्ने नै भयो । भारतबाट चामल ल्याउनेहरू निरुत्साहित हुनेछन्,’ उनले भने । 

अवैध रूपमा चामल ल्याउने क्रमलाई भंग गर्न र राजस्वको दायरा बढाउन कडाइ गर्नुको विकल्प नभएको उनको भनाइ छ । घरायसी प्रयोगलाई भनेर छुट दिँदा तस्करी बढेको उनको भनाइ छ । ‘खुट्टा टेक्ने ठाउँ दिँदा सुत्ने ठाउँ खोज्ने प्रवृत्ति बढ्यो । अहिले नियन्त्रण नगरे झनै समस्या पर्ने देखियो,’ उनले भने ।

नेपालगन्ज भन्सार कार्यालयले बुधबार तीन सय २१ वटा प्रज्ञापनपत्र जारी भएको आइटी अफिसर नाथप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार मंगलबार एक सय ५३ वटा मात्र प्रज्ञापनपत्र जारी भएको थियो । ‘राजस्व संकलनमा खासै अन्तर नभए पनि प्रज्ञापनपत्र जारी भने दोब्बरले वृद्धि भएको रेकर्ड छ,’ उनले भने । मंगलबार यात्रा शाखाले एक लाख १८ हजार सात सय ४५ रुपैयाँ राजस्व संकलन गरेको थियो भने बुधबार एक लाख २२ हजार ६ सय ५८ रुपैयाँ राजस्व संकलन भएको सापकोटाले बताए ।