१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक १८ शुक्रबार ०६:४९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दुई ठूला दलका अध्यक्षको सुदूरपश्चिम दौड : डडेल्धुरा पुगे देउवा, ओली आज दार्चुला जाँदै

Read Time : > 1 मिनेट
२०७९ कार्तिक १८ शुक्रबार ०६:४९:००

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत खुला प्रचारको समय सुरु भएसँगै पहिलो र दोस्रो ठूला दलका अध्यक्ष सुदूरपश्चिमकेन्द्रित भएका छन् । खुला प्रचारको समय सुरु भएकै दिन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराको चुनावी कार्यक्रममा सहभागी भएका छन् । सबैभन्दा ठूला दल एमाले अध्यक्ष केपी ओली निर्वाचन अभियान सुरु गर्न शुक्रबार दार्चुला जाँदै छन् । शीर्ष नेताहरूको उपस्थितिले सुदूरपश्चिममा चुनावी रौनक थप बढ्ने देखिएको छ । 

ओलीका कारण नचाहँदा–नचाहँदै प्रधानमन्त्री बन्नुपर्‍यो : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीका कारण नचाहँदा–नचाहँदै पनि आफू प्रधानमन्त्री बन्नुपरेको बताएका छन् । डडेल्धुरामा बिहीबार गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले ओलीकै कारण वर्तमान गठबन्धनसमेत बनेको जिकिर गरे । 

‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास गर्न थालेपछि लोकतन्त्रको रक्षाका लागि पाँच दल एक ठाउँमा उभियौँ,’ देउवाले भने, ‘ओलीले संविधान मास्न थालेपछि गठबन्धन मात्र बनेन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा म प्रधानमन्त्री बन्नुपर्‍यो । प्रधानमन्त्री बन्न मेरो चाहना थिएन, ओलीकै कारण त्यस्तो परिस्थिति बनेको हो ।’

उनले केही समयसम्म गठबन्धन कायम रहने बताए । ‘गठबन्धनको अपरिहार्यता अझै कायम छ,’ उनले थपे, ‘जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँचदलीय गठबन्धनले देश हाँक्नुपरेको हो ।’ 

डडेल्धुराबाट उम्मेदवार रहेका देउवाको यो पहिलो चुनावी सभा हो । सभामा उनले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको दाबी गरे । डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउँदै उनले पश्चिम सेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको पनि जानकारी दिए ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु देउवा राणा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी पोलिटब्युरो सदस्य खगराज भट्ट, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष नन्दराज भट्ट, जगत् पार्कीलगायत नेताले सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेका थिए ।

ओली आउने भएपछि खलंगामा रौनक

एमाले अध्यक्ष केपी ओली शुक्रबार दार्चुला आउँदै छन् । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै छ । बिहान ११ बजे ओलीले सदरमुकाम खलंगामा अभियानको उद्घाटन गर्ने एमाले नेताहरूले बताएका छन् ।

ओलीको स्वागतका लागि दार्चुला सदरमुकाम खलंगा झकिझकाउ पारिएको छ । खलंगाका मुख्य प्रवेशद्वार तथा कार्यक्रमस्थल झन्डा ब्यानरले सजाइएको छ । पहिलोपटक दार्चुलाबाट सुरु हुन लागेको चुनावी सभालाई आकर्षक बनाउने गरी तयारी गरिएको एमाले प्रचार विभाग प्रमुख खड्क बडालले जानकारी दिए । चुनावी सभामा भाग लिन गाउँ–गाउँबाट जनमानस खलंगा आउन थालेका छन् । 

ओली प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ दार्चुलाबाट चुनावी अभियान सुरु गरेर एमालेले राष्ट्रियताको पक्षमा रहेको सन्देश प्रवाह गर्न खोजेको छ । ‘ओलीकै नेतृत्वमा भारतले कब्जा गरेको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल नेपाली नक्सामा समेटिएको हो,’ एमालेबाट प्रतिनिधिसभा उम्मेदवार रहेका गणेशसिंह ठगुन्नाले नयाँ पत्रिकासँग भने, ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन, नेपाललाई फिर्ता गर्नुपर्छ । अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ भन्ने सन्देश दिलाउन एमालेले दार्चुलाबाटै अभियानको थालनी गर्न लागेको हो ।’ ओली खलंगामा हुने आमसभालाई उद्घाटन गर्न हेलिकोप्टरबाट आउनेछन् । ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।