मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक १७ बिहीबार ११:१५:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्वर्ण पदक विजेता बुढालाई जुम्लामा सम्मान

Read Time : > 1 मिनेट
२०७९ कार्तिक १७ बिहीबार ११:१५:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कीर्तिमानी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुँदै गृहजिल्ला जुम्ला आइपुगेका बुढालाई खादा र अबिरले स्वागत तथा सम्मान गरिएको हो । 

एसिया इन्टरनेसनल बोर्डिङ जुम्लाले एक कार्यक्रमबीच सम्मान गरेको हो । खेलाडीलाई उत्साहित र हौसला बढाउन सम्मान गरिएको स्कुल सञ्चालक मनोज बुढाथोकी मगरले बताए । उनले भने, ‘जुम्लालाई कृषि क्षेत्रबाट स्याउ, सिमी, मार्सी धान र एथलेक्टिस खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पहिचान दिने काम गरेका छन् । यो हाम्रो जिल्लाको मात्रै नभएर देशकै गौरवको विषय हो ।’  

यस्तै, जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्यसचिव संगीता आचार्यसहित जुम्लाका सरोकारवालाले खेलाडीको मनोबल उच्च बनाउन गृहजिल्लामा स्वागत तथा सम्मान गरेका हुन् । गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका दुर्गबहादुर बुढा प्रथम भएर स्वर्ण पदक विजेता घोषित भएका थिए । उनी कर्णाली प्रदेशकै पहिलो स्वर्ण पदक जितेका हुन् ।

बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टेबल चेस पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका थिए । कास्कीको पोखरामा सम्पन्न भएको प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गले निर्धारित दूरी आठ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका जानकारी दिए ।

बुढाले स्वर्ण पदक मात्रै प्राप्त गरेनन् तीन हजार मिटरको अहिलेसम्मको रेकर्डसमेत तोडेका छन् । बुढाले यसअघि खेलाडी राजेन्द्र भण्डारीले आठ मिनेट ५७ सेकेन्डमा पार गरेको समयलाई आठ मिनेट ५५.१९ सेकेन्डमा पार गर्दै कीर्तिमान कायम गरेका छन् । पोखरामा सम्पन्न उक्त प्रतियोगितामा बुढाले पाँच हजार मिटरमा भने द्वितीय स्थान हासिल गरेका थिए ।

धावक बुढाका गुरु गिनिज बुक अफ द वर्ल्ड रेकर्डर जुम्लाकै हरिबहादुर रोकायालाई समेत स्थानीय खेलाडी तथा सरोकारवाला निकायले स्वागत गरेका छन् । रोकायाको योगदान तथा प्रशिक्षणले दुर्ग बुढा, सुनमाया बुढालगायत दर्जनौँ खेलाडीले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरी सफलता हासिल गर्दै आएका छन् ।

दुर्गबहादुर बुढाले आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १० किलोमिटर दौडमा पनि स्वर्ण पदक जितेका थिए । भारतीय आर्मीसमेत रहेका बुढाले भारतमा सञ्चालित विभिन्न प्रतियोगितामा विजय हासिल गर्दै आएका छन् ।

खेलाडीलाई व्यापारीको सहयोग 
दुर्गबहादुरले पोखरामा स्वर्ण पदक जितेको खबर पाएपछि उत्साहित भएका जुम्लावासी सनलाइट इलेक्ट्रोनिक पसलका व्यापारी बालकृष्ण बुढा र उनका दाजु भुवनसिंह बुढाले ५०–५० हजार गरी  एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । स्वर्ण पदक मात्रै होइन, नेसनल रेकर्ड कायम गरेकाले दुर्गबहादुरलाई आफूले सानो सहयोग गरेको व्यापारी बालकृष्ण बुढाले बताए । उनले भने, ‘खेलाडीलाई उत्साहित बनाउन सहयोग गरिएको हो ।’