मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १७ बिहीबार ०७:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरको ३२ वडामै महिला सञ्जाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १७ बिहीबार ०७:०५:००

कार्यविधिमै दलित महिला सदस्यमाथि विभेद भएको आरोप

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा महिला सञ्जाल सुरु गर्न लागेको छ । यसका लागि १२ भदौमा बसेको महानगरको कार्यपालिका बैठकले वडा महिला सञ्जाल सञ्चालन कार्यविधि ०७९ पारित गरिसकेको छ । यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशितसमेत भइसकेको छ ।

दुई महिनाअघि नै पास भएको कार्यविधि दलितमैत्री नभएको भन्दै दलित महिला सदस्यहरूले विरोध गरेका छन् । वडा नम्बर ७ की दलित महिला सदस्य कल्पना सुन्दासले कार्यविधिले सबै दलित महिलालाई एकै रूपमा हेरेको बताइन् । ‘दलित महिला भन्नेबित्तिकै सबैलाई एकै नजरले हेरेर व्यवहार गरिन्छ । यहीकारणले महानगरको कतिपय समितिमा दलित महिलाको उपस्थिति नै छैन, उपस्थिति रहेको समितिमा पनि प्रभाव एकदमै कमजोर छ,’ सुन्दासले भनिन्, ‘अन्य सञ्जाल गठन गर्दा पनि क्षमता हेरेर दलित महिलाहरूलाई पनि संयोजक बनाउनुपर्‍यो ।’ वडा नम्बर १७ की दलित सदस्य कविता दासले महिला सञ्जालमा महिला दलित सदस्यहरूलाई सदस्य मात्रै बनाएकोमा आपत्ति जनाइन् । ‘कार्यविधिमै महिला सदस्यलाई संयोजक र दलित सदस्यलाई सदस्य मात्र भनिएको छ । म एउटा दलित महिला जनप्रतिनिधि भएकाले किन यस्तो भयो भनेर प्रस्ट हुन चाहन्छु,’ दासले भनिन् । 

सञ्जालले के गर्छ ?
सञ्जालले हिंसा, शोषण, दमन, भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरभित्रका महिलालाई यथासम्भव छिटो, सरल, सहज र पहुँचयोग्य हुने गरी न्याय प्राप्त गर्न गराउन समन्वय सहयोग गर्नेछ । महानगरअन्तर्गतका वडाहरूमा संस्थागत सञ्जालमार्फत आवश्यक पहुँच वृद्धि गर्ने संयन्त्र विकास गर्न सञ्जाल बनाएको महानगरको भनाइ छ ।

यस्तो छ कार्यविधि 
कार्यविधिको दफा ३ मा वडा महिला सञ्जालको संरचनागत व्यवस्था गरेको छ । सञ्जालमा वडासदस्यमा निर्वाचित महिला सदस्य संयोजक हुने व्यवस्था छ भने निर्वाचित दलित सदस्य सञ्जालको सदस्य हुने व्यवस्था छ । सञ्जालमा महिला हिंसाविरुद्ध वडा तहमा क्रियाशील संस्थाहरूको प्रतिनिधिमध्येबाट संयोजकले छनोट गरेको दुईजना सदस्य हुने व्यवस्था छ । नजिकको प्रहरी कार्यालय प्रमुख तथा निजले तोकेको प्रतिनिधि, महिला अधिकारको क्षेत्रमा काम गर्ने मेलमिलापकर्ता, कानुन व्यवसायी, प्राध्यापक, पत्रकार, समाजसेवीमध्येबाट संयोजकले चयन गरेको एकजना महिला अधिकारकरर्मी हुने व्यवस्था छ । वडासचिव सञ्जालको सदस्यसचिव हुने व्यवस्था छ । 

जघन्य अपराधका घटनामा मेलमिलाप गर्नुहुँदैन : नगरप्रमुख साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जघन्य अपराधका घटनामा मेलमिलाप गर्न नहुने बताएका छन् । वडा महिला सञ्जाल गठन र सञ्चालनसम्बन्धी छलफलमा उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने बताएका हुन् । साहले स्थानीय सरकारलाई बलियो बनाउनसके मात्र महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निस्तेज पार्न सकिने बताए । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्न लागेको जानकारी दिइन् । महानगरपालिकाको न्यायिक समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले महिला सञ्जालमा काम गर्दा पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने बताइन् । काठमाडौं महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।