मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ मङ्सिर २८ शुक्रबार १३:०६:००
Read Time : > 1 मिनेट
विश्व

मूल्यवृद्धिविरुद्ध प्रदर्शनले ठूलो मूल्य चुकाउँदै छ फ्रान्स

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ मङ्सिर २८ शुक्रबार १३:०६:००

फ्रान्समा जारी सरकारविरोधी हिंसात्मक प्रदर्शनबाट देशले ठूलो मूल्य चुकाएको विश्लेषण हुन थालेको छ । इन्धनको मूल्यवृद्धिविरुद्ध झन्डै एक महिनादेखि भएको हिंसात्मक प्रदर्शन फ्रान्सेली अर्थतन्त्रका लागि ठूलो दुर्घटना साबित भएको छ । पहेँलो टिसर्टधारीले गरेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि यसै साता सरकारले मूल्यवृद्धिको निर्णय केही महिनाका लागि स्थगित गरेको घोषणा गरेको थियो ।

सरकारको सो घोषणापछि प्रदर्शन झन् चर्किएको छ । प्रदर्शनका कारण तीनजनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । आइतबार मात्र १ लाख २५ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरूमध्ये १२ सयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोँ एक टेलिभिजन सम्बोधनमार्फत संकट समाधानका लागि आह्वान गर्ने तयारीमा छन् । उनले सोमबार देशका व्यापारिक नेताहरूसँग भेट गरेका थिए ।

समाज र प्रजातन्त्रका लागि संकट

अर्थमन्त्री ब्रुनो ली म्यारीले विद्यमान समस्या समाज र प्रजातन्त्रका लागि संकट भएको बताएका छन् । ‘जारी प्रदर्शन हाम्रो व्यापार र अर्थतन्त्रका लागि ठूलो दुर्घटना हो,’ प्रदर्शनका क्रममा क्षतिग्रस्त पसलहरूको अवलोकनका क्रममा उनले भने । प्रदर्शनकारीले सयौँ पसलमा लुटपाट, तोडफोड र आगजनी गरेका छन् । राजधानी पेरिसमा फुटेका सिसा र जलेका कारका भग्नावशेषका थुप्रो देखिएको छ । आइतबारको प्रदर्शनमा अहिलेसम्मकै ठूलो क्षति भएको उपमेयर इम्यानुअल जर्जगोइरले जानकारी दिए ।

अमेरिकी राष्ट्रपतिविरुद्ध आक्रोश

प्रदर्शनबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई लिएर फ्रान्सेली विदेशमन्त्रीले आक्रोश व्यक्त गरेका छन् । ट्रम्पले हिंसाको मुख्य कारण पेरिस जलवायु परिवर्तन भएको ट्विट गरेका थिए । ‘म र हाम्रा राष्ट्रपतिले यहाँ भइरहेका घटनाबारे अमेरिकालाई कुनै चासो र टिप्पणी नगर्न सुझाब दिन्छु,’ विदेशमन्त्री ली ड्रायनले भने । राष्ट्रपति ट्रम्पले अमेरिकालाई जलवायु परिवर्तनसम्बन्धी सन् २०१५ को पेरिस सम्झौताबाट अलग गरेका छन् ।

म्याक्रोँको लोकप्रियता खस्कँदो

सरकारविरोधी आन्दोलमा सामाजिक सञ्जालका प्रयोगकर्ताले पनि ऐक्यबद्धता जनाएका छन् । देशमा क्रान्तिकारी परिवर्तन र सुधार ल्याउने वाचासहित दुई वर्षअघि इम्यानुअल म्याक्रोँ राष्ट्रपतिमा निर्वाचित भएका थिए । निर्वाचनपछि उनले विभिन्न सुधारका कार्यक्रम घोषणा गरेका थिए, जसका कारण उनको लोकप्रियता चुलिएको थियो । तर, पछिल्ला दिनमा उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा आलोचित छन् ।

आफूले ल्याएका सुधारका कार्यक्रम ओझेलमा पार्न विपक्षी राजनीतिक दलहरूले इन्धनविरोधी प्रदर्शनलाई मुख्य हतियार बनाएको राष्ट्रपति म्याक्रोँले गुनासो गर्दै आएका छन् ।

प्रदर्शनले कति आर्थिक क्षति ?

मूल्यवृद्धिविरोधी प्रदर्शनले पु¥याएको आर्थिक क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन । तर, हिंसामा फ्रान्सले ठूलो मूल्य चुकाएको प्रारम्भिक विवरणमा जनाइएको छ । राजधानी पेरिसबाट प्रकाशित हुने ली प्यारिसिन पत्रिकाका अनुसार राजधानीमा मात्र ५० भन्दा बढी सवारीसाधनमा आगजनी गरिएको छ र दर्जनौँ पसल तथा व्यापारिक गृहमा तोडफोड भएको छ ।

राजधानीका धेरै पसलमा लुटपाट भएको छ । दंगामा लाखौँ पाउन्डको क्षति भएको सरकारी अधिकारीहरूले जनाएका छन् । इन्धनविरोधी हिंसाले एक महिनाको अवधिमा अर्बौं डलरको आर्थिक नोक्सानी भएको फ्रान्सका व्यावसायिक संस्थाहरूले बताएका छन् ।