१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ कार्तिक १६ बुधबार १०:२५:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्यार्थी बिमामार्फत वार्षिक अर्बौँ बाहिरिँदै : अस्ट्रेलिया जानेले मात्रै खर्चिए नौ अर्ब

गत आर्थिक वर्ष ०७८/७९ मा एक लाख १२ हजार नो अब्जेक्सन लेटर लिएकामध्ये ६६ हजार आठ सय विद्यार्थी अस्ट्रेलिया जान चाहने, बिमा गर्न प्रतिविद्यार्थी एक हजार अमेरिकी डलर खर्च लाग्ने

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ कार्तिक १६ बुधबार १०:२५:००

विद्यार्थी बिमामार्फत नेपालबाट वार्षिक अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ । वैदेशिक अध्ययनका लागि विश्वका विभिन्न मुलुकमा जाने विद्यार्थीले अनिवार्य रूपमा बिमा गर्नुपर्छ । यस्तो बिमा नेपालस्थित शैक्षिक परामर्श संस्थाले सीधै विदेशी बिमा कम्पनीसँग गर्छन् ।  गत आर्थिक वर्ष ०७८/७९ मा एक लाख १२ हजार पाँच सय २८ ले नो अब्जेक्सन लेटर (एनओसी) लिएको शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक छ । जसमध्ये ७० प्रतिशत विद्यार्थी अष्ट्रेलिया जाने रहेको मन्त्रालयको भनाइ छ । 

यसलाई आधार मान्दा गत वर्ष करिब ७० हजार विद्यार्थी अस्ट्रेलिया गएका छन् । अस्ट्रेलियाको नीतिअनुसार विद्यार्थीले तह र कोर्सअनुसार वार्षिक सात सयदेखि एक हजार डलरसम्मको बिमा गर्नुपर्छ । बिमा गर्न अस्ट्रेलिया सरकारले अस्ट्रेलियन कम्पनी नै तोकिदिएको छ । अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीले अस्टे«लियामा खोलिएका इन्स्योरेन्स कम्पनी एनआइबी हेल्थ इन्स्योरेन्स कम्पनी, एलिएन्ज हेल्थ इन्स्योरेन्स कम्पनी, बुप्पा हेल्थ इन्स्योरेन्स कम्पनीमा नै बिमा गर्नुपर्छ । 

औसतमा एक हजार डलर बिमा खर्च गर्दा मात्रै गत वर्ष आठ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको नेको इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बिमक संघका महासचिव अशोक खड्काले बताए । अस्ट्रेलिया र सिंगापुरमा विदेशी विद्यार्थीको लगानी नडुबोस् भनेर बिमा गर्नुपर्ने व्यवस्था छ । आफ्नो मुलुकप्रति विदेशी विद्यार्र्थीको धारणा सकारात्मक होस् भनेर बिमाको व्यवस्था गरिएको नेपाल शैक्षिक परामर्श संघ अध्यक्ष प्रकाश पाण्डेले बताए । युके र अमेरिका अध्ययन गर्न जाने विद्यार्थीले पनि बिमा गर्नुपर्छ । तर, यी मुलुकमा जाने विद्यार्थीले गन्तव्य मुलुकमा नै पुगेपछि बिमा गर्न सकिने व्यवस्था गरेको उनले बताए । 

कतिपय मुलुकले भिसा आवेदन दिनुअगावै बिमाको गरेको हुनुपर्ने व्यवस्था गरेका छन् भने कतिपय मुलुकले भिसा लागेपछि तथा गन्तव्य मुलुकमा पुगेपछि बिमा गर्न सकिने व्यवस्था गरेका छन् । अवस्था जुनसुकै लागू भए पनि विद्यार्थीले भने अनिवार्य रूपमा बिमा गर्नुपर्ने अवस्था रहेको नेपाल बिमक संघका महासचिव खड्काले बताए । 

 नेपाली बिमा कम्पनीसँग सम्झौता गरे ३३ प्रतिशत नेपालमै होल्ड हुने
विदेश जाने विद्यार्थीले गर्ने स्वास्थ्य बिमा नेपाली बिमा कम्पनीमार्फत गर्न सकिए बिमा रकममध्ये ३३ प्रतिशत नेपालमा नै होल्ड गर्न सकिने नेपाल बिमक संघका महासचिव अशोक खड्काले बताए । उनका अनुसार सम्बन्धित मुलुकका बिमा कम्पनीसँग नेपाली बिमा कम्पनीले सम्झौता गर्न सके विद्यार्थीले सबैभन्दा पहिला नेपाली बिमा कम्पनीमा नै बिमा गर्छन् । यसो हुन सकेमा नेपाली बिमा कम्पनीले प्रत्यक्षमार्फत २५ प्रतिशत बिमा रकम आफूले होल्ड गर्न पाउँछ । त्यसैगरी, आफ्नो क्षमताअनुसार कम्पनीले थप आठ प्रतिशतसम्म बिमा रकम होल्ड गर्न सक्छन् । यसरी नेपाली कम्पनीले कम्तीमा पनि ३३ प्रतिशत बिमा रकम नेपालमा नै होल्ड गर्न सक्ने उनले दाबी गरे । बाँकी रकमको सम्बन्धित मुलुकका बिमा कम्पनीसँग पुनर्बिमा गरिन्छ ।  

त्यसैगरी, विद्यार्थीको बिमा रकम पनि जोखिममा नपर्ने नेपाल बिमक संघका महासचिव खड्काको भनाइ छ । उनका अनुसार विदेशी कम्पनीमा सीधै बिमा गर्दा दाबी भुक्तानी पाउन कठिनाइ हुन सक्छ । तर, स्वदेशी कम्पनीसँग नै बिमा गर्दा भुक्तानी नपाउने जोखिम कम हुन्छ । नेपाली बिमा कम्पनी र गन्तव्य मुलुकको बिमा कम्पनीबीच सम्झौता हुँदा बिदेसिने रकम कम हुने उनको दाबी छ । 

यस विषयमा नेपाली इन्स्योरेन्स कम्पनीहरूले पनि प्रयास थालेको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका खड्काले बताए । ‘कम्पनीहरूले अस्ट्रेलियास्थित स्वास्थ्य बिमा कम्पनीसँग सम्झौता गर्ने प्रयास गरेका छन् । सम्झौता भयो भने मुलुककै हित हुन्छ,’ उनले भने । त्यस्तै, इक्यानका अध्यक्ष पाण्डेले सात वर्षअगाडि नै वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको बिमा पोलिसी बनाउन बिमा समितिलाई अनुरोध गरेको बताए । कतिपय मुलुकमा जाने विद्यार्थीको कलेज नक्कली पर्ने र अन्य विभिन्न कारणले लगानीसमेत डुब्ने हुन्छ । वैदेशिक अध्ययनका लागि विद्यार्थीले घरखेत नै धितो राखी लगानी गरेका हुन्छन् । यसरी एकपटक लगानी डुब्दा परिवार नै बेघरसमेत हुनुपरेको अवस्था छ ।

त्यसैले लगानी सुरक्षाका लागि समितिलाई पोलिसी बनाइदिन अनुरोध गरेको उनले बताए । तर, बिमा समितिले बेवास्ता गर्दै आएको उनले गुनासो गरे । तर, बिमा समितिका प्रमुख कार्यकारी राजुरमण पौडेलले भने नेपाली कम्पनी आफैँले प्रयास गरी विदेशी कम्पनीसँग सम्झौता गर्न सक्ने बताए । हामीले त्यसलाई स्वीकृति मात्रै गरिदिने हो ।मन्त्रालयको तथ्यांकअनुसार गत आवमा ६६ हजार आठ सय ८५ ले अस्ट्रेलिया जानका लागि एनओसी लिए । १६ हजार आठ सय २० ले जापान, पाँच हजार आठ सय ८३ ले अमेरिकाका लागि, पाँच हजार पाँच सय २२ ले क्यानडाका लागि र पाँच हजार ७४ ले बेलायत अध्ययनका लागि जान एनओसी लिए । 

त्यस्तै, भारतका लागि तीन हजार ८३, युएईका लागि दुई हजार तीन सय ९४, कोरियाका लागि एक हजार तीन सय ३७, फ्रान्सका लागि ६ सय ८०, रसियाका लागि ६ सय २६ र जर्मनीका लागि चार सय ९९ विद्यार्थीले एनओसी लिएका छन् । आव ०७५/७६ मा अध्ययनमा जाने विद्यार्थीमार्फत ४६ अर्ब २४ करोड रुपैयाँ बाहिरियो । ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरियो । आवमा ०७७/७८ मा २४ अर्ब ९५ करोड रुपैयाँ बाहिरियो भने गत आवमा करिब ६५ अर्ब रुपैयाँ बाहिरिएको छ । 

कुनै नेपाली कम्पनीले प्रस्ताव ल्याए हामी स्वीकृत दिन्छाैँ
राजुरमण पौडेल कार्यकारी निर्देशक, बिमा समिति

नेपाली बिमा कम्पनीले यसमा आवेदन लिएर आए भने हामीले स्वीकृति दिने मात्रै हो । केही समयअगाडि केही एजेन्टहरू समितिमा आएका थिए । हामीले पहिला राष्ट्र बैंकसँग अनुमति लिन भनेका थियौँ । त्यसपछि उनीहरू आएनन् । कुनै कम्पनीले योजनासहित प्रस्ताव लिएर आउँछन् भने नेपाली कम्पनीलाई हामी स्वीकृत दिन सक्छौँ ।

अर्बौँ रुपैयाँ बाहिरिँदा सरकार बेखबर
अशोक खड्का, महासचिव, नेपाल बिमक संघ
 प्रमुख कार्यकारी अधिकृत, नेको इन्स्योरेन्स
वैदेशिक अध्ययनमा जाने विद्यार्थी बिमामार्फत अर्बाैँ रुपैयाँ बाहिरिँदै आएको छ । तर, हालसम्म यसप्रति सरकारको ध्यान भने जान सकेको छैन । हामीले धेरै पहिलादेखि विदेशी कम्पनीसँग सम्झौता गर्ने प्रयास गर्दै आएका थियौँ । अहिले अस्ट्रेलियास्थित बिमा कम्पनीसँग सम्झौता गर्ने प्रयास गरेका छौँ ।